देशका अधिकांश क्षेत्रमा मनसुनी वर्षा भइरहेका बेला मधेश प्रदेशका अधिकांश क्षेत्रमा भने पर्याप्त वर्षा हुन सकेको छैन।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेशका केही स्थानमा छिटपुट वर्षा भए पनि प्रदेशका धेरै भूभाग अझै सुक्खा रहेका छन्।कोशी प्रदेशमा पनि पानी परेको छैन ।
मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्ला दुई दिनयता मधेश र कोशी प्रदेशका अधिकांश क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन।
उनका अनुसार केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि आगामी केही दिनसम्म मधेशका धेरै क्षेत्रमा व्यापक वर्षा हुने सम्भावना न्यून देखिएको छ।
उनले दुई दिन वर्षा नहुँदैमा सुक्खा अवस्था घोषणा गर्न नमिल्ने स्पष्ट पारेका छन्। मौसम प्रणालीको अवस्थाअनुसार वर्षा हुने वा नहुने अवस्था परिवर्तन भइरहने उनको भनाइ छ।
मौसमविद्का अनुसार मनसुन सक्रिय हुँदैमा सबै क्षेत्रमा समान रूपमा वर्षा हुन्छ भन्ने हुँदैन। वर्षाको मात्रा मनसुनको न्यूनचापीय रेखाको अवस्थाले निर्धारण गर्ने उनको भनाइ छ।
हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिमी क्षेत्रमा राम्रो वर्षा भइरहेको छ। तर, उक्त रेखा पूर्वी नेपाल र मधेश क्षेत्रबाट टाढा रहेकाले मधेश प्रदेशमा अपेक्षाकृत कम वर्षा भएको हो।
मौसमविद्हरूका अनुसार यो अवस्था अझै केही दिन कायम रहने सम्भावना छ। त्यसैले आगामी केही दिनसम्म मधेश प्रदेशका अधिकांश क्षेत्रमा ठूलो वर्षाको सम्भावना कम रहने र पश्चिमी क्षेत्रमा भने वर्षा निरन्तर हुन सक्ने अनुमान गरिएको छ।