नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय देश हो । यहाँ बोलिने विभिन्न भाषाहरूले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई अझ सुन्दर बनाएका छन् । नेपाली भाषा राष्ट्रको साझा सम्पर्क भाषा भए पनि अन्य मातृभाषाहरूको संरक्षण र सम्मान समान रूपमा आवश्यक छ । यिनै भाषाहरूमा सिर्जित साहित्यले नेपालको मौलिकता र सांस्कृतिक गौरवलाई विश्वसामु चिनाउने कार्य गरिरहेको छ। यो अत्यन्तै महत्वपूर्ण कुरा हो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १२४ मातृभाषा बोलिन्छन् (थप भाषासहित १३१) । नेपालको संविधानले देवनागरी लिपिमा लेखिने नेपाली भाषालाई सरकारी कामकाजको भाषा र सबै मातृभाषालाई राष्ट्रिय भाषा मानेको प्रमुख भाषाहरू नेपाली ४४.९ प्रतिशत, मैथिल ११.० प्रतिशत, भोजपुरी ६.२ प्रतिशत, थारु ५.९ प्रतिशत, तामाङ ४.९ प्रतिशत रहेको देखाउँछ । कतिपय भाषा लोप हुने अवस्थामा छन्, जो औंलामा गन्ने व्याक्तिले मात्रै टिकाएको छ । जस्को संरक्षण राज्यसहितको निकायले ध्यान पु¥याउन आवाशयक छ ।
हाम्रो पहिचान भनेको आफ्नो भाषा हो । हामी जहाँ जान्छौं आफ्नो पहिचान साथमा लिएका हुन्छांै । भाषा साहित्यको कुरा गरिरहँदा पछिल्लो समय साहित्यमा नेपालीबाहेक थुपै्र भाषाका विधागत साहित्यको प्रभाव बढ्दो छ । नेपालका सातै प्रदेशमा बोलिने स्थानीय भाषामार्फत् साहित्यमा अलग्गै पहिचान रहेको छ । जो एकले अर्कोलाई बुझ्ने सबैभन्दा सुन्दर चित्रण भाषा र साहित्य मानव सभ्यताका दुई महत्वपूर्ण आधारस्तम्भ हुन् । भाषा विचार, भावना र अनुभव अभिव्यक्त गर्ने माध्यम हो भने साहित्य त्यही भाषामार्फत् सिर्जित जीवन, समाज र संस्कृतिको कलात्मक अभिव्यक्ति हो । यी दुई एकअर्काका पूरक हुन् । भाषाबिना साहित्यको अस्तित्व सम्भव छैन र साहित्यबिना भाषाको विकास र विस्तार अधुरो रहन्छ । तसर्थ आफ्नो पहिचानलाई बुझ्न सरल माध्यम खोज आवाश्यक छ ।
भाषाको कुरा गरिरहँदा यसले कुनै पनि समुदायको पहिचान बोकेको हुन्छ । मानिसले आफ्नो विचार आदानप्रदान गर्न, ज्ञान हस्तान्तरण गर्न र सामाजिक सम्बन्ध सुदृढ बनाउन भाषाको प्रयोग गर्छ । प्रत्येक भाषाले आफ्नो समुदायको इतिहास, संस्कृति, परम्परा र जीवनशैलीलाई बोकेको हुन्छ । त्यसैले भाषा केवल सञ्चारको साधनमात्र नभई सांस्कृतिक सम्पदाको वाहक पनि हो ।
हामीले बुझेका छौं, साहित्य समाजको दर्पण हो । साहित्यले समाजका सुख–दुःख, आशा–निराशा, संघर्ष र उपलब्धिहरूलाई जीवन्त रूपमा प्रस्तुत गर्दछ । कविता, कथा, उपन्यास, निबन्ध, नाटक तथा अन्य साहित्यिक विधाहरूले मानव जीवनका विविध पक्षहरूलाई उजागर गर्दै पाठकलाई सोच्न, बुझ्न र आत्ममूल्याङ्कन गर्न प्रेरित गर्छन् । असल साहित्यले समाजमा सकारात्मक चेतना, नैतिक मूल्य र मानवीय संवेदनाको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।
हामीले भाषा र साहित्यको संरक्षण तथा प्रवद्र्धन आजको आवश्यकता हो भन्दै गर्दा यो क्षेत्रमा कसरी काम गर्न सकिन्छ भन्ने चासो लिनुपर्छ । विश्वव्यापीकरण र प्रविधिको तीव्र विकाससँगै धेरै भाषाहरू लोप हुने अवस्थामा पुगेका छन् । यस्ता चुनौतीबीच मातृभाषा तथा राष्ट्रिय भाषाको संरक्षण, अध्ययन र प्रयोगमा विशेष ध्यान दिन आवश्यक छ । साहित्यिक गतिविधि, अनुसन्धान, प्रकाशन तथा पठन संस्कृतिको विकासले भाषा र साहित्यलाई थप समृद्ध बनाउन सक्छ । साहित्यको विकास ,विस्तारलाई पहुँच पु¥याउन साहित्यले ठूलो भूमिका खेलेको हुन्छ ।
भाषा र साहित्य कुनै राष्ट्रका आत्मा हुन् । भाषाले पहिचान दिन्छ भने साहित्यले चेतना र संस्कार निर्माण गर्छ । समृद्ध भाषा र सशक्त साहित्यले नै सभ्य, सचेत र उन्नत समाज निर्माण गर्न सक्छ । त्यसैले भाषा र साहित्यको संरक्षण, विकास र विस्तारमा राज्य, संस्था तथा प्रत्येक नागरिकको समान जिम्मेवारी र सक्रिय सहभागिता आवश्यक छ । भाषा र साहित्यको सम्मान गर्नु भनेको आफ्नो संस्कृति, इतिहास र अस्तित्वको सम्मान हो ।