सह–आयोजक क्यानडाले इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन युस्ताकियोले गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलोपटक फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ।
स्पष्ट अवसरहरू कम बनेको प्रतिस्पर्धात्मक खेल अतिरिक्त समयतर्फ उन्मुख भइरहेका बेला युस्ताकियोले पेनाल्टी क्षेत्रको बाहिरबाट प्रहार गरेको उत्कृष्ट ग्राउन्ड सट गोलमा परिणत भएपछि क्यानडाले ऐतिहासिक जित हात पार्यो।
यसअघि विश्वकपमा खेलेका सबै ६ खेलमा पराजित भएको क्यानडाले यस संस्करणमा भने उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। समूह चरणमा जुन १८ मा कतारलाई ६–० ले पराजित गर्दै विश्वकप इतिहासकै पहिलो जित निकालेको क्यानडाले नकआउट चरणमा पनि सफलता दोहोर्याउँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
अब क्यानडाले जुलाई ४ मा ह्युस्टनमा हुने प्रि–क्वार्टरफाइनलमा नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
खेल सकिएलगत्तै टोलीलाई सम्बोधन गर्दै प्रशिक्षक जेसी मार्शले आफ्ना खेलाडीलाई “तपाईंहरू क्यानडाका नायक हुनुहुन्छ। तपाईंहरूकै कारण यो देशमा फुटबलको भविष्य अझ उज्ज्वल हुनेछ,” भन्दै प्रशंसा गरेका थिए।
समूह ‘ए’ को उपविजेताका रूपमा नकआउट चरण पुगेको दक्षिण अफ्रिकाले भने निराशाजनक प्रदर्शन गर्यो। टोलीले खेलभर केवल एक पटक मात्र लक्ष्यमा प्रहार गर्न सफल भयो र अतिरिक्त समयसम्म खेल लैजाने रणनीतिमा देखिए पनि अन्तिम क्षणमा गोल खाँदै प्रतियोगिताबाट बाहिरियो।
क्यानडाले खेलभर दबाब कायम राखेको थियो। मोइस बोम्बिटोको हेडरलाई दक्षिण अफ्रिकाका अब्रे मोडिबाले गोललाइनबाट क्लियर गरेका थिए भने रिची लारियामाथि गरिएको चुनौतीमा पेनाल्टी नदिइएपछि प्रशिक्षक मार्श असन्तुष्ट बनेका थिए।
दोस्रो हाफमा अल्फोन्सो डेभिस मैदान प्रवेश गरेपछि क्यानडाको आक्रमण थप धारिलो बनेको थियो। जोनाथन डेभिड र प्रोमिस डेभिडले पनि गोल गर्ने अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
यद्यपि खेलको अन्तिम समयमा युस्ताकियोले निर्णायक गोल गर्दै क्यानडालाई ऐतिहासिक सफलता दिलाए। क्यानडाले खेलभर सात पटक लक्ष्यमा प्रहार गरेको थियो।
विश्व फुटबल वरीयतामा हाल ३०औँ स्थानमा रहेको क्यानडाका लागि यो जित ऐतिहासिक मानिएको छ। समूह चरणका तीनै खेल घरेलु मैदानमा खेलेको क्यानडाले अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भएपछि उपविजेताका रूपमा नकआउट चरणमा पुगेको थियो।
यसैबीच, ह्यामस्ट्रिङ चोटका कारण समूह चरणका खेल गुमाएका स्टार डिफेन्डर अल्फोन्सो डेभिसको पुनरागमन पनि क्यानडाका लागि ठूलो सकारात्मक पक्ष बनेको छ। बायर्न म्युनिखका यी खेलाडी मैदान प्रवेश गरेसँगै टोलीको आक्रमणमा नयाँ ऊर्जा थपिएको थियो।