कृषिप्रधान मानिने मधेस प्रदेशमा यस वर्ष गहुँ उत्पादनमा आएको उल्लेखनीय गिरावटले प्रदेशको कृषि क्षेत्रको वास्तविक अवस्था उजागर गरेको छ ।
कृषि निर्देशनालयको तथ्याङ्कले उत्पादनमात्र नभई प्रतिहेक्टर उत्पादकत्वमा समेत ठूलो ह्रास देखाएको छ, जसले खाद्य सुरक्षा, किसानको आय र प्रदेशको कृषि अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने संकेत दिएको छ ।
उत्पादकत्वमा गिरावट
यस वर्ष मधेस प्रदेशमा करिब एक लाख ७३ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरिएको भए पनि प्रतिहेक्टर उत्पादन १.८ मेट्रिक टनमा सीमित रह्यो ।
फलस्वरूप कुल उत्पादन करिब पाँच लाख ४३ हजार मेट्रिक टनमा झ¥यो । अघिल्लो वर्ष प्रतिहेक्टर ३.३७ मेट्रिक टन उत्पादन हुँदा कुल उत्पादन सात लाख ३१ हजार मेट्रिक टन पुगेको थियो ।
तथ्याङ्कले खेतीयोग्य क्षेत्रफलमा ठूलो परिवर्तन नभए पनि उत्पादकत्वमा आएको तीव्र गिरावट नै उत्पादन घट्नुको मुख्य कारण रहेको स्पष्ट देखाउँछ ।
यसले समस्या केवल खेती विस्तारको नभई उत्पादन क्षमता कमजोर हुँदै गएको संकेत गर्दछ ।
कृषि व्यवस्थापनमा असमानता
जिल्लागत तथ्याङ्कले मधेसभित्रै कृषि उत्पादनमा उल्लेखनीय भिन्नता रहेको देखाएको छ । धनुषा ९८ हजार ४९० मेट्रिक टन उत्पादनसहित अग्रस्थानमा रह्यो भने सप्तरी, महोत्तरी र रौतहटले पनि तुलनात्मक रूपमा राम्रो प्रदर्शन गरेका छन् । तर बारा, सर्लाही र सिराहामा अपेक्षाकृत कम उत्पादकत्व देखिनुले सिंचाइ, प्रविधि, बीउको उपलब्धता र कृषि व्यवस्थापनमा जिल्लागत असमानता रहेको संकेत गर्दछ ।
एउटै प्रदेशभित्र उत्पादनमा देखिएको यस्तो अन्तरले स्थानीय स्तरको कृषि पूर्वाधार र सेवा प्रणालीको प्रभावलाई उजागर गर्छ।
मौसम अस्थिरताको असर
कृषिविज्ञहरूका अनुसार उत्पादन घट्नुको प्रमुख कारणमध्ये एक प्रतिकूल मौसम हो । समयमा वर्षा नहुनु, तापक्रममा अस्वाभाविक उतारचढाव तथा लामो सुक्खा अवधिले गहुँबालीको वृद्धि र दाना विकास प्रक्रियामा प्रत्यक्ष असर पु¥याएको छ ।
जलवायु परिवर्तनका प्रभावहरू पछिल्ला वर्षहरूमा मधेसको कृषि क्षेत्रमा देखिन थालेका छन् । यस वर्षको उत्पादन गिरावटले मौसममा बढ्दो अनिश्चितता अब कृषि उत्पादनको स्थायित्वका लागि प्रमुख चुनौती बनेको देखाउँछ ।
सिंचाइ दोहोरिएको समस्या
मधेस प्रदेशको कृषि उत्पादनमा सबैभन्दा ठूलो संरचनागत कमजोरी अझै पनि सिंचाइ सुविधा अभाव नै रहेको देखिन्छ । अधिकांश किसान वर्षा आधारित खेतीमा निर्भर हुँदा मौसम प्रतिकूल बनेसँगै उत्पादनमा प्रत्यक्ष गिरावट आउने गरेको छ ।
सिंचाइ पूर्वाधार विस्तारका योजना वर्षौँदेखि चर्चा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा कृषि उत्पादन अझै प्राकृतिक वर्षामाथि निर्भर छ । यसले कृषिलाई जोखिमयुक्त र अस्थिर बनाएको छ ।
प्राविधिक सेवाको कमजोर पहुँच
गुणस्तरीय बीउबिजनको अभाव, आधुनिक खेती प्रविधिको सीमित प्रयोग तथा किसानसम्म नियमित प्राविधिक सेवा नपुग्नु उत्पादन घट्नुका अर्को महत्वपूर्ण कारण हुन् ।
कम उत्पादक क्षमता भएका बीउको प्रयोग, रोग–कीरा व्यवस्थापनमा कमजोरी र वैज्ञानिक खेती प्रणालीको अपर्याप्त प्रयोगले प्रतिहेक्टर उत्पादनमा प्रत्यक्ष असर पारेको कृषि क्षेत्रका विज्ञहरूको निष्कर्ष छ ।
कृषि प्रणालीको संस्थागत कमजोरी
मधेस प्रदेश कृषि निर्देशनालयका अधिकारीहरू उत्पादन घट्नुमा मौसमी कारण मात्र नभई कृषि क्षेत्रका संस्थागत तथा संरचनागत कमजोरी पनि जिम्मेवार रहेको स्वीकार गर्छन् ।
कृषि विस्तार सेवा, अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासबीचको कमजोर समन्वयले किसानले अपेक्षित उत्पादन लिन नसकेको देखिन्छ ।
यसले कृषि क्षेत्रमा लगानीको मात्रामात्र होइन, त्यसको प्रभावकारिता र व्यवस्थापन क्षमता पनि पुनः समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
खाद्य सुरक्षामा प्रभाव
गहुँ उत्पादनमा आएको गिरावटले प्रदेशको खाद्य सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ । उत्पादन घटेसँगै बजारमा आपूर्ति कम हुने र मूल्यवृद्धिको दबाब बढ्ने सम्भावना छ ।
कृषिमा निर्भर लाखौँ किसान परिवारको आम्दानी घट्न सक्ने तथा ग्रामीण अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ । कृषि उत्पादनमा आएको गिरावट केवल खेतसम्म सीमित रहने विषय नभई समग्र आर्थिक गतिविधिसँग जोडिएको चुनौती हो ।
दीर्घकालीन रणनीति
कृषिविज्ञहरूका अनुसार यो अवस्था अस्थायी मौसमी समस्यामात्र होइन, कृषि नीतिको कार्यान्वयन र पूर्वाधार विकासमा रहेको कमजोरीको परिणाम हो ।
उत्पादनलाई स्थिर र दिगो बनाउन सिंचाइ विस्तार, गुणस्तरीय बीउको सहज उपलब्धता, रोग–कीरा व्यवस्थापन, कृषि बीमाको प्रभावकारी कार्यान्वयन तथा जलवायु अनुकूल कृषि प्रविधिमा लगानी बढाउनुपर्ने आवश्यकता देखिएको छ ।