राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले स्थानीय तहको बेवास्ताका कारण सर्वसाधारणले सामान्य समस्यामा समेत ठूलो सास्ती खेप्नुपरेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पन्तले स्थानीय तहले न्यून बजेट र सीमित जनशक्तिबाट तत्काल समाधान गर्न सक्ने समस्यासमेत लामो समयदेखि अलपत्र छाड्ने गरेको बताए । स्रोतसाधनको अभावमा सांसदहरू जनताका समस्या देखेर पनि निरीह बन्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
‘हामी निर्वाचन क्षेत्रमा जाँदा जनताले अनेकौँ समस्या देखाउँछन् र समाधानको आशा गर्छन्, जुन जायज पनि हो,’ पन्तले भने, ‘तर स्थानीय सरकारले न्यून बजेट र थोरै जनशक्ति परिचालन गरेर तत्काल समाधान गर्न सक्ने समस्याहरू समेत अलपत्र परेका छन्।’
उनका अनुसार वर्षायाममा स्थानीय सडकमा पानी जमेर दह बन्दा बालबालिका विद्यालय जानसमेत समस्या भइरहेको छ । विद्यालयमा आवश्यक डेस्क–बेन्च नहुँदा विद्यार्थी भुइँमा बसेर पढ्नुपर्ने तथा कतिपय विद्यालयमा पङ्खाको अभावमा अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षामै बेहोस हुने अवस्था रहेको उनले बताए ।
‘स्थानीय सरकारले गर्नुपर्ने यस्ता सामान्य काम पनि भएका छैनन्,’ उनले भने, ‘सांसदहरूसँग प्रत्यक्ष कुनै स्रोत तथा कोष नहुँदा जनताका समस्या टुलुटुलु हेरेर फर्किनुको विकल्प छैन।’
पन्तले विगतमा संसदीय कोषको दुरुपयोग नभएको भए अहिले त्यसलाई सही ढंगले उपयोग गर्न सकिने धारणा पनि राखे । उद्देश्य सही हुँदाहुँदै पनि गलत पात्र र प्रवृत्तिका कारण कतिपय विषय नै विकृत बन्न पुगेको उनको भनाइ थियो ।