चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै सरकारको बजेट खर्च अघिल्लो वर्षको तुलनामा घटेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन मसान्तसम्म सरकारले ४१ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ खर्च गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको थियो। यस वर्ष साउनमा कुल बजेटको १.६८ प्रतिशत मात्र खर्च भएको छ। गत वर्ष यस्तो प्रगति २.३६ प्रतिशत थियो।
गत वर्षको साउनमा बजेट खर्च बढाउन वित्तीय व्यवस्थाअन्तर्गतको खर्चको योगदान ठूलो थियो। सो अवधिमा वित्तीय व्यवस्थातर्फ २७ अर्ब १० करोड रुपैयाँ खर्च भएकोमा चालु आर्थिक वर्षको साउनमा यस्तो खर्च १९ अर्ब १५ करोड रुपैयाँमा सीमित भएको छ। वित्तीय व्यवस्थातर्फको अधिकांश रकम सार्वजनिक ऋणको साँवा भुक्तानीमा खर्च हुने गर्छ।
सरकारले चालु आर्थिक वर्षमा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटको अर्धवार्षिक समीक्षा गर्दा खर्च संशोधन गर्न नपर्ने दाबी गर्दै आएका छन्।
पूँजीगत खर्चमा सामान्य सुधार
सरकारको पूँजीगत खर्च भने अघिल्लो वर्षको साउनको तुलनामा केही बढेको छ। यस वर्ष ४ खर्ब २१ अर्ब १० करोड रुपैयाँ पूँजीगत बजेट विनियोजन गरिएकोमा साउनमा १ अर्ब ३२ करोड ८५ लाख रुपैयाँ, अर्थात् लक्ष्यको ०.३१ प्रतिशत खर्च भएको छ।
गत आर्थिक वर्षको साउनमा पूँजीगत खर्च ७२ करोड ६३ लाख रुपैयाँ मात्र थियो, जुन लक्ष्यको ०.१८ प्रतिशत थियो।
यद्यपि, बजेट कार्यान्वयनको सुरुवाती महिनामै विकास निर्माणका कामलाई गति दिनुपर्ने भए पनि खर्चको अवस्था अपेक्षाअनुसार हुन सकेको छैन। जेठ १५ गते बजेट प्रस्तुत हुने व्यवस्थाअनुसार आयोजना तथा कार्यक्रमको पूर्वतयारीका काम आर्थिक वर्ष सुरु हुनुअघि नै सम्पन्न गरी साउन १ गतेदेखि कार्यान्वयनमा लैजाने अपेक्षा गरिन्छ। तर, व्यवहारमा बजेट कार्यान्वयनको पूर्वतयारी ढिलो हुने प्रवृत्तिले सुरुवाती महिनाको खर्च कमजोर हुने गरेको छ।
साउनमा सरकारको चालु खर्च २१ अर्ब ४० करोड रुपैयाँ भएको छ। यो कुल चालु खर्च लक्ष्यको १.६८ प्रतिशत हो। चालु आर्थिक वर्षमा सरकारले १२ खर्ब ७० अर्ब रुपैयाँ चालु खर्च गर्ने लक्ष्य राखेको छ।
राजस्व संकलनमा भने वृद्धि
बजेट खर्च घटे पनि सरकारले साउनमा संकलन गरेको राजस्व भने अघिल्लो वर्षको तुलनामा बढेको छ।
साउनमा सरकारले ९२ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही महिनामा ८४ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठेको थियो।
यस वर्ष साउनमा राजस्व संकलन लक्ष्यको ५.८४ प्रतिशत पुगेको छ। गत वर्ष यस्तो प्रगति ५.७१ प्रतिशत थियो।
चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। साउनमा सरकारले २४ करोड ३ लाख रुपैयाँ अनुदानसमेत प्राप्त गरेको छ।
यससँगै साउनमा सरकारको कुल आम्दानी ९३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ५.६९ प्रतिशत हो।