अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा भएको नाटो सम्मेलनपछि बेलायततर्फ उड्दा आफू चढेको विमान गोप्य रूपमा परिवर्तन गरेको खुलासा भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले ट्रम्प सवार विमानमा क्षेप्यास्त्र प्रहार गर्न सक्ने विश्वसनीय सूचना पाएपछि सुरक्षा निकायले यस्तो कदम चालेको थियो।
वासिङ्टन पोस्टका अनुसार ट्रम्पले टर्कीको अंकारा विमानस्थलमा टेलिभिजन क्यामेराको अगाडि पुरानो ‘एयर फोर्स वन’ मा चढेको देखिए पनि त्यसपछि उनलाई विमानको अर्को छेउमा उचालिएको विमानस्थलको क्याटरिङ ट्रकमार्फत गोप्य रूपमा C-32A सैन्य विमानमा लगिएको थियो।
C-32A अमेरिकी उपराष्ट्रपतिसहित उच्च अधिकारीले प्रयोग गर्ने बोइङ ७५७मा आधारित सैन्य विमान हो। ट्रम्प विमान परिवर्तन गरेको विषयमा पत्रकार तथा ह्वाइट हाउसका केही कर्मचारीसमेत अनभिज्ञ रहेको रिपोर्टमा उल्लेख छ।
अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार अमेरिकी गुप्तचर निकायले इरानबाट ट्रम्प सवार विमानमा क्षेप्यास्त्र आक्रमण हुन सक्ने विश्वसनीय खतरा पहिचान गरेको थियो। ह्वाइट हाउसले भने अहिलेसम्म गोप्य विमान परिवर्तनको घटनालाई प्रत्यक्ष रूपमा पुष्टि वा खण्डन गरेको छैन।
ट्रम्पले नाटो सम्मेलनका क्रममा आफू इरानको ‘नम्बर एक लक्ष्य’ भएको बताएका थिए। उनले आफूविरुद्ध सधैँ खतरा रहेको भन्दै पत्रकारहरूसँग समेत सुरक्षाको विषयमा कुरा गरेका थिए।
रिपोर्टअनुसार ट्रम्प टर्की पुगेका बेला कतारले दिएको नयाँ बोइङ ७४७–८ विमान प्रयोग गरेका थिए। तर फर्किने क्रममा उनले ‘पुरानो समयको सम्झनाका लागि’ पुरानो एयर फोर्स वन प्रयोग गर्ने बताएका थिए।
जुलाई ८ मा ट्रम्प पुरानो एयर फोर्स वनमा चढेको दृश्य सार्वजनिक भएको थियो। तर त्यसपछि उनलाई गोप्य रूपमा C-32A मा सारिएको र अमेरिकी रक्षा सचिव पिट हेगसेथ पनि छुट्टै बाटोबाट सोही विमानमा चढेको बताइएको छ।
यस क्रममा एयर फोर्स वनमा रहेका पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीलाई विमानका झ्यालका पर्दा बन्द गर्न भनिएको थियो। उनीहरूलाई राष्ट्रपति अब विमानमा नरहेको जानकारी थिएन।
ट्रम्प त्यसपछि C-32A मार्फत बेलायत पुगेका थिए। त्यहाँ उनी फेरि पुरानो एयर फोर्स वनमा सरेर अमेरिका फर्किए। त्यसपछि भने उनले कतारले उपलब्ध गराएको नयाँ विमान प्रयोग गरी वासिङ्टनतर्फ यात्रा गरेका थिए।
ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेङले विमान परिवर्तनको घटनाबारे प्रत्यक्ष पुष्टि वा खण्डन नगरे पनि नयाँ एयर फोर्स वन अत्याधुनिक सुरक्षा प्रणालीसहितको विमान भएको बताएका छन्।
यसअघि पनि अमेरिकी सञ्चारमाध्यमहरूले कतारबाट प्राप्त करिब ४० करोड डलर मूल्यको बोइङ ७४७–८ को सुरक्षा क्षमताबारे प्रश्न उठाएका थिए। पुराना एयर फोर्स वन विमानमा क्षेप्यास्त्रलाई निष्क्रिय पार्ने लेजर प्रविधि रहेको बताइए पनि नयाँ कतारी विमानमा यस्ता प्रणालीमध्ये कुन–कुन उपलब्ध छन् भन्ने स्पष्ट छैन।