सुनसरी र सिरहामा भएका तनाव तथा गोलीकाण्डबारे छानबिन गर्न गठित छुट्टाछुट्टै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङसमक्ष प्रतिवेदन बुझाएका छन्।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार दुवै समितिले मंगलबार नै प्रतिवेदन बुझाएका हुन्। प्रतिवेदन अध्ययन गरेपछि आवश्यक कारबाही अघि बढाइने उनले बताइन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएको थियो। त्यसपछि भएको झडप र सुरक्षाकर्मीको गोली प्रहारबाट चार जनाको मृत्यु भएको थियो।
सुरक्षाकर्मीको गोली लागेर सुरुमा कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घाइते भई उपचाररत जयप्रकाश मेहता र रवीन्द्र मेहताको पनि पछि मृत्यु भएको थियो।
कप्तानगञ्जको घटनापछि विवाद सिरहासम्म पुगेको थियो। सिरहामा भएको घटनामा पनि सुरक्षाकर्मीको गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।
दुवै घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छुट्टाछुट्टै छानबिन समिति गठन गरेको थियो। कप्तानगञ्ज घटनाबारे छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो भने सिरहा घटनाको छानबिनका लागि सहसचिव पुष्पराज शाहीको नेतृत्वमा अर्को समिति बनाइएको थियो।
दुवै समितिले बुझाएको प्रतिवेदनमा घटनाको कारण, सुरक्षा व्यवस्थापन, सुरक्षाकर्मीको भूमिका तथा जिम्मेवार पक्षबारे के–कस्ता निष्कर्ष निकालिएको छ भन्ने विषय अब मन्त्रालयले अध्ययन गरेपछि सार्वजनिक हुने अपेक्षा गरिएको छ।