सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी तथा अन्य अनधिकृत गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै पर्सा प्रहरीले सुरक्षा रणनीतिलाई थप प्रभावकारी बनाउने बताएको छ।
हालै पर्सा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले पर्साका पत्रकारहरूसँगको परिचयात्मक अन्तरक्रियामा सीमाको भौगोलिक संवेदनशीलता, अपराध नियन्त्रणका चुनौती र प्रहरीमाथि उठ्ने प्रश्नलाई सम्बोधन गर्दै सुरक्षा व्यवस्थामा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
भारतसँग करिब १०७ किलोमिटर खुला सीमा जोडिएको पर्सा आर्थिक तथा सामाजिक गतिविधिका दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि यही खुला सीमाले सुरक्षा व्यवस्थापनलाई जटिल बनाएको छ। सीमाबाट हुने अवैध आयात–निर्यात, तस्करी, अनधिकृत आवतजावत तथा सीमा अपराध नियन्त्रण गर्नु प्रहरीका लागि नियमित चुनौती हो। यस्तो अवस्थामा सुरक्षा केवल सीमा क्षेत्रमा प्रहरी परिचालन बढाएरमात्र सुनिश्चित हुन नसक्ने भएकाले स्थानीय प्रशासन, नागरिक समाज, सञ्चारमाध्यम र सीमावर्ती समुदायसँगको समन्वयलाई पनि प्रहरीले रणनीतिक प्राथमिकता दिनुपर्ने बताइएको छ।
एसपी भट्टराईले सीमामा खटिने प्रहरीमाथि लाग्ने आरोपप्रति प्रहरी सचेत रहेको उल्लेख गरेका छन् । अपराध नियन्त्रणसँगै प्रहरीको कार्यसम्पादनमा पारदर्शिता र जवाफदेहिताको प्रश्न पनि महत्वपूर्ण रहेको उनले बताएका छन्। सीमावर्ती क्षेत्रमा प्रहरीको भूमिका प्रभावकारी बनाउन कानून कार्यान्वयनसँगै निष्पक्षता, व्यावसायिकता र नागरिकप्रतिको विश्वास कायम गर्नु उत्तिकै आवश्यक रहेको र सुरक्षा निकायप्रतिको विश्वास कमजोर हुँदा अपराध नियन्त्रणका सूचनादेखि अनुसन्धानसम्मका महत्वपूर्ण पक्ष प्रभावित हुने पत्रकारहरुले बताए ।
नेपाल पत्रकार महासंघका विभिन्न तहका पदाधिकारी तथा सञ्चारकर्मीहरूले पत्रकार र प्रहरीबीच रचनात्मक सहकार्यको आवश्यकता औंल्याए । परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय लेखा संयोजक केसी लामिछाने, मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल, पूर्व केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतका सञ्चारकर्मीले पत्रकार र प्रहरीबीच रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।
सञ्चारमाध्यमले प्रहरीका गतिविधिको निगरानी र प्रश्न उठाउने भूमिकासँगै स्थानीय सुरक्षा चुनौती, अपराधको प्रवृत्ति र नागरिकका समस्यालाई तथ्यमा आधारित ढंगले सार्वजनिक गर्न गरेको उनीहरुले बताए । प्रहरीले पनि सूचना प्रवाहमा पारदर्शिता अपनाएमा अफवाह, गलत सूचना र अविश्वास कम गर्न सहयोग पुग्न सक्ने पत्रकारहरुले बताए।
पर्साको सुरक्षा चुनौतीलाई केवल सीमा अपराधको दृष्टिले हेर्नुभन्दा जिल्लाको आर्थिक गतिविधि, सीमावर्ती बजार, यातायात, जनघनत्व, स्थानीय अपराधको स्वरूप र भारतसँगको सामाजिक-आर्थिक सम्बन्धलाई समेत समेटेर विश्लेषण गर्न आवश्यक देखिएको उनीहरुको धारणा थियो।