मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकी लक्ष्मी बडुको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार उच्च अदालत वीरगञ्जका रजिष्ट्रार तारादत्त बडुकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडुको काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो मंगलबार बिहान करिब ७ बजे जुरिखेतमा अनियन्त्रित भई सडकबाट खोल्सामा खसेको थियो ।
दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी, रजिष्ट्रार ५७ वर्षीय तारादत्त बडु, उनकी श्रीमती लक्ष्मी, छोरा २५ वर्षीय रितेन्द्र बडु, ३१ वर्षीया रिता बडु र जिप चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी घाइते भएका थिए ।
घाइतेमध्ये बडु परिवारका सदस्यलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको थियो । बिहान करिब १०ः१५ बजे अस्पताल पुर्याइएकी लक्ष्मीलाई चिकित्सकले करिब १०ः३० बजे मृत घोषणा गरेका थिए ।
मुख्य न्यायाधीश डाँगी र जिप चालक चौधरीको भने मकवानपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।