भारतको ८०औँ स्वतन्त्रता दिवस भारतको महावाणिज्य दूतावास, वीरगञ्जमा विभिन्न कार्यक्रमसहित उत्साह र देशभक्तिपूर्ण भावनाका साथ मनाइएको छ।
समारोहको सुरुवात ‘वन्दे मातरम्’को प्रस्तुतिबाट गरिएको थियो। त्यसपछि भारतको महावाणिज्यदूत देवी सहाय मीनाले राष्ट्रिय झण्डा फहराउनुभएको थियो। झण्डोत्तोलनपछि सहभागीहरूले सामूहिक रूपमा भारतको राष्ट्रिय गान गाएका थिए।

सो अवसरमा महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपतिको स्वतन्त्रता दिवसका अवसरमा जारी सम्बोधन वाचन गर्नुभएको थियो।
समारोहमा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकाले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले भारतको सांस्कृतिक विविधता, राष्ट्रिय एकता तथा देशभक्तिको भावनालाई झल्काएको थियो। कार्यक्रममा सहभागी दर्शकहरूले विद्यार्थी तथा बालबालिकाको प्रस्तुतिको प्रशंसा गर्दै उत्साहपूर्वक ताली बजाएका थिए।

कार्यक्रममा पर्सा र बाराका वरिष्ठ प्रशासनिक तथा प्रहरी अधिकारीका साथै BiCCI, NIFA, NYEF, NiCCI, पतञ्जली लगायत विभिन्न संघसंस्था तथा क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। उनीहरूको उपस्थितिले भारत र नेपालबीचको जनस्तरमा रहेको घनिष्ठ सम्बन्ध तथा सहकार्यलाई प्रतिबिम्बित गरेको दूतावासले जनाएको छ।
कार्यक्रमका क्रममा महावाणिज्यदूत मीनाले सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिने विद्यार्थी तथा विशेष क्षमता भएका बालबालिकालाई प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।

त्यसैगरी, भारत सरकारको परराष्ट्र मन्त्रालयद्वारा आयोजित ‘भारतलाई जानौं’ (भारत को जानिए) प्रश्नोत्तरीका विजेताहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले विभिन्न विद्यालयसँगको सहकार्यमा आयोजना गरेको चित्रकला प्रतियोगिताका विजेताहरूलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो।
दूतावासका अनुसार कार्यक्रममा प्रस्तुत सांस्कृतिक कार्यक्रम, विद्यार्थीहरूको सहभागिता र विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिले भारतको स्वतन्त्रता दिवसलाई विशेष र स्मरणीय बनाएको थियो।