धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको माग उठिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले निर्माण प्रक्रिया नरोकिने स्पष्ट पारेकी छन्।
सोमबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसकेको बताउँदै नयाँ संरचना निर्माण सम्पन्न हुन समय लाग्ने भएकाले तत्कालका लागि लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको जानकारी दिइन्।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते हुने नागरिकलाई उपचारका लागि काठमाडौं लैजानुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल सेवा विस्तार र दीर्घकालीन पूर्वाधार निर्माणलाई समानान्तर रूपमा अघि बढाएको छ।
लहानस्थित प्रादेशिक अस्पतालमा सीटी स्क्यान, आवश्यक चिकित्सकीय जनशक्ति, पर्याप्त बिरामी चाप तथा ब्लड बैंकलगायत ट्रमा सेवा सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार उपलब्ध रहेकाले त्यहाँ तत्काल ट्रमा युनिट सञ्चालन गर्ने निर्णय गरिएको मन्त्री मेहताले बताइन्।
‘लहानमा ट्रमा युनिट सञ्चालन गर्नु ढल्केबरको विकल्प होइन,’ उनले भनिन्, ‘नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्म नागरिकलाई तत्काल उपचार उपलब्ध गराउने अन्तरिम र व्यावहारिक व्यवस्था हो।’
मन्त्री मेहताले एक स्थानमा दीर्घकालीन स्वास्थ्य संरचना निर्माण भइरहँदा अर्को स्थानमा तत्काल सेवा विस्तार गर्नु विरोधाभास नभएको बताइन्। सरकारको नीति नै आवश्यकताअनुसार देशका विभिन्न स्थानमा ट्रमा सेन्टर तथा ट्रमा युनिट विस्तार गर्ने रहेको उनको भनाइ छ।
‘हाम्रो उद्देश्य एउटै हो—दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,’ उनले भनिन्।
ढल्केबरमा निर्माण भइरहेको संरचनालाई गति दिन तथा उपलब्ध पूर्वाधारबाट तत्काल नागरिकलाई सेवा दिने वातावरण बनाउन मन्त्री मेहताले जनप्रतिनिधि, स्थानीयवासी तथा सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आग्रहसमेत गरेकी छन्।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणको माग गर्दै स्थानीयस्तरमा आन्दोलन जारी रहेका बेला मन्त्रीको यस्तो धारणा आएको हो।