धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्ने तयारी भएको भन्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आह्वानमा जारी आन्दोलनको पाँचौँ दिन सोमबार स्थानीयवासी, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा आधा घण्टा राजमार्ग अवरुद्ध गरिएको हो। बिहान ११ बजेदेखि ११ः३० बजेसम्म राजमार्ग अवरुद्ध गर्दै प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए।
गत शुक्रबार प्रस्तावित स्थान ढल्केबरमै ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग राख्दै संघर्ष समितिले चरणबद्ध आन्दोलन घोषणा गरेको थियो। संसद्मा स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ट्रमा सेन्टर लहानमा निर्माण हुने जानकारी दिएपछि ढल्केबर क्षेत्रमा विरोध थप चर्किएको हो।
संघर्ष समितिका संयोजक एवं मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोका अनुसार माग सम्बोधन नभए आन्दोलन थप कडा बनाइनेछ। उनका अनुसार मंगलबार बिहान ११ बजेदेखि १२ बजेसम्म तथा २७ गते बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम तय गरिएको छ।
ढल्केबरमा ट्रमा सेन्टर निर्माणका लागि संघीय सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा पहिलोपटक रकम विनियोजन गरेको थियो। मिथिला नगरपालिका–७, साविक ढल्केबर गाविस वडा नं. २ ‘क’ स्थित कित्ता नं. १६९ को करिब चार बिघा ऐलानी जग्गालाई आधार बनाएर योजना अघि बढाइएको थियो।
मेयर महतोका अनुसार ट्रमा सेन्टरका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको छ भने जग्गाको लालपुर्जा समेत बनिसकेको छ। निर्माणको शिलान्यासको तयारी भइरहेका बेला योजना लहान सार्ने विषय आएपछि स्थानीयवासी आन्दोलित भएका हुन्।
संघर्ष समितिले सरकारले यसअघि प्रक्रिया अघि बढाइसकेको ढल्केबरकै स्थानमा ट्रमा सेन्टर निर्माण गर्नुपर्ने माग गर्दै आएको छ। स्थानीयको माग सम्बोधन नभए राजमार्ग केन्द्रित आन्दोलनलाई थप विस्तार गर्ने चेतावनीसमेत समितिले दिएको छ।