नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहको भेलामा धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयलाई लिएर नेता विमलेन्द्र निधि र प्रकाशशरण महतबीच मञ्चमै विवाद भएको छ। प्रस्ताव पेश भइरहेका बेला निधि रोस्ट्रमतर्फ गएपछि दुई नेताबीच कागज खोसाखोस भएको थियो। महतले निधिलाई रोकेर पुनः मञ्चमा फर्काएका थिए।
भेलामा नेता दीपक कुइँकेलले पारित गरिने प्रस्ताव रोस्ट्रमबाट पेश गरिरहेका बेला निधि उठेर रोस्ट्रमतर्फ पुगेका थिए। प्रस्तावमा धर्मसम्बन्धी विषय समेटिएको भाषाप्रति निधिको आपत्ति रहेको बताइएको छ। उक्त प्रस्ताव प्रकाशशरण महतलगायतका नेताहरूले तयार गरेका थिए।
एक कांग्रेस नेताका अनुसार भेलाले महतलगायतका नेताहरूले तयार गरेको प्रस्ताव पारित गरेको छ। प्रस्तावमा नेपालको सनातन धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। निधिले भने ‘धार्मिक स्वतन्त्रता’ भन्ने शब्दावली मात्रै प्रयोग गर्नुपर्ने धारणा राखेका थिए।
कांग्रेसले यसअघि नेपाललाई धार्मिक स्वतन्त्रताको पक्षमा रहेको भन्दै आएको अवस्थामा त्यसबाट अन्यथा जान नहुने निधिको धारणा रहेको बताइएको छ। तर देउवा समूहको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोडेर थप व्याख्यासहित प्रस्ताव पारित गरेको हो।
भेलाबाट पारित प्रस्तावमा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचानको हिस्सा भएको उल्लेख गरिएको छ। साथै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा प्रत्येक व्यक्ति र धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रताको सुनिश्चिततासँगै नेपालमा परम्परादेखि चलिआएका हिन्दू, बौद्ध, किरात र प्रकृत धर्मको संरक्षण गर्ने प्रतिबद्धता जनाइएको छ। प्रस्तावमा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने उल्लेख छ।
भेलामा कांग्रेस नेता शेरबहादुर देउवाले आफू हिन्दू भएको बताएका छन्। यद्यपि उनले सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्नुपर्ने धारणा राखेका छन्। देउवाको भनाइले धार्मिक स्वतन्त्रता र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने विषय कांग्रेसभित्र बहसको विषय बनेको संकेत गरेको छ।