नेपाली कांग्रेसका सभापति गगन थापाले १४औं महाधिवेशनबाट निर्वाचित भएर पनि पार्टी संरचनाभन्दा बाहिर रहेका नेताहरूलाई समेटेर अघि बढ्न आफू तयार रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति तथा अन्य समितिमा समावेश गर्ने प्रस्ताव अघि सारेका हुन्।
उनले १४औं महाधिवेशनबाट निर्वाचित नेताहरूको ठूलो पंक्ति अझै पार्टीको निर्णय तहभन्दा बाहिर रहेको उल्लेख गर्दै उनीहरूलाई सम्मानजनक भूमिकासहित समेट्न चाहेको बताए।
‘१४औं महाधिवेशनबाट निर्वाचित भएका नेताहरू जो अहिले मेरो समितिभित्र हुनुहुन्न, उहाँहरूलाई पनि सँगै राखेर काम गर्न चाहन्छु,’ थापाले भने, ‘वरिष्ठ नेता बनाउनुपर्नेलाई वरिष्ठ नेता, उपयुक्त जिम्मेवारी दिनुपर्नेलाई जिम्मेवारी दिएर सबैलाई साथमा लिएर अघि बढ्ने मेरो प्रस्ताव हो।’
उनले निर्वाचन समिति, सदस्यता छानबिन समिति तथा अनुशासन समितिमा पनि बाहिर रहेका नेताहरूलाई समेटेर १५औं महाधिवेशनलाई थप पारदर्शी बनाउन चाहेको बताए।
त्यसका लागि पार्टीभित्रको इतर समूहसँग छलफलमा आउन उनले आग्रह गरेका छन्।
सभापति थापाले विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा पार्टीभित्र विभेद नगर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
उनले पार्टीभित्र अवसर, निर्णय प्रक्रिया, प्रदेश सरकार, संसदीय दल, स्थानीय सरकार तथा भ्रातृ संस्थामा जिम्मेवारी बाँडफाँट गर्दा कुनै पक्षलाई विभेद नगरिने स्पष्ट पारे।
थापाले आफूले यी प्रस्तावहरू इतर पक्षका नेताहरूसमक्ष पनि राखिसकेको दाबी गरेका छन्।