भारतको गोरखपुरमा एक अनौठो विवाह चर्चाको विषय बनेको छ। विवाहकै दिन दुर्घटनामा परेर अस्पताल भर्ना भएकी बेहुलीसँग बेहुलाले आईसीयू बेडमै पुगेर विवाह गरेका हुन्।
बाँसगाउँस्थित हटवार गाउँकी पूजा यादव र महुआका सन्नी यादवको विवाह १३ मे २०२६ मा तय भएको थियो। विवाहकै दिन पूजा एलएलबी अन्तिम सेमेस्टरको परीक्षा दिएर भाइसँग मोटरसाइकलमा घर फर्किंदै थिइन्।
फर्किने क्रममा अचानक चक्कर लागेर उनी मोटरसाइकलबाट खसेकी थिइन्। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल गोरखपुरस्थित अस्पताल लगिएको थियो। अवस्था गम्भीर भएपछि चिकित्सकहरूले उनलाई आईसीयूमा भर्ना गरेका थिए।
दुर्घटनापछि विवाह रोकिने अनुमान गरिए पनि दुवै परिवारले विवाह स्थगित नगर्ने निर्णय गरे। त्यसपछि बेहुला सन्नी जन्ती लिएर सिधै अस्पताल पुगेका थिए।
राति करिब १ बजे चिकित्सकहरूको उपस्थितिमा आईसीयू बेडमै पल्टिएकी पूजाको सिउँदोमा सन्नीले सिन्दूर भरेका थिए। अस्पतालमै पण्डितले मन्त्र उच्चारण गर्दै दुवैलाई सात वचन दिलाएर विवाह सम्पन्न गराएका थिए।
अस्पतालको पोसाकमै रहेकी बेहुली र बेहुलाको यो विवाह अहिले गोरखपुरभर चर्चामा छ।
सिन्दूरदानपछि बेहुला सन्नी गाउँ फर्किएका थिए भने त्यहाँ विवाहका बाँकी परम्परा पूरा गरिएको बताइएको छ। यसअघि उनी जन्ती लिएर बेहुलीको गाउँ हटवार पुगेका थिए, जहाँ द्वारपूजा लगायतका रस्मसमेत सम्पन्न गरिएको थियो।
बीए उत्तीर्ण गरेका सन्नी हाल रोजगारीको तयारीमा रहेका छन्। कठिन परिस्थितिमा पनि जीवनसाथीको साथ नछोडेको भन्दै स्थानीयले उनको प्रशंसा गरेका छन्।