केन्द्रीय अस्पतालको मान्यता प्राप्त नारायणी अस्पतालमा मनोचिकित्सक र नेफ्रोलोजिस्ट (मिर्गौला रोग विशेषज्ञ) चिकित्सकको दीर्घकालीन अभावका कारण मानसिक स्वास्थ्य तथा डायलासिस सेवा प्रभावित भएको छ। विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरूलाई अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
अस्पताल स्रोतका अनुसार विगत तीन वर्षदेखि मनोचिकित्सक पद रिक्त रहेको छ। यसअघि करारमा कार्यरत एक जना मनोचिकित्सकले करिब एक वर्ष सेवा दिएपछि फर्किएपछि उक्त पद पूर्ति हुन सकेको छैन। अस्पतालमा दैनिक २५ देखि ३० जना मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बिरामी परामर्शका लागि आउने गरेका छन्।
अस्पतालका सूचना अधिकृत डा. उदयनारायण सिंहका अनुसार मनोचिकित्सक नहुँदा मानसिक रोग, लागूऔषध दुरुपयोग तथा एचआइभी/एड्ससम्बन्धी समस्यामा परामर्श सेवा प्रभावित भएको छ। हाल बिरामीहरूलाई उपचारका लागि नेशनल मेडिकल कलेजलगायत अन्य स्वास्थ्य संस्थामा पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
विशेषज्ञ सेवा नपाउँदा बिरामी तथा उनका परिवारलाई थप आर्थिक भार र समयको समस्या बढेको गुनासोसमेत बढ्दै गएको छ। सरोकारवालाहरूले तराई क्षेत्रमा मानसिक स्वास्थ्य समस्याका बिरामी बढी भए पनि प्रमुख अस्पतालमै विशेषज्ञ नहुनु चिन्ताजनक भएको बताएका छन्।
यस्तै, अस्पतालमा मिर्गौला उपचार सेवा (डायलासिस) पनि विशेषज्ञ चिकित्सक अभावकै कारण प्रभावित भएको छ। करारमा कार्यरत नेफ्रोलोजिस्ट चिकित्सक करिब छ महिना अघि सेवा अवधि सकिएपछि फर्किएका थिए र त्यसयता पद खाली रहेको अस्पतालले जनाएको छ।
हाल अस्पतालमा १५ वटा डायलासिस मेसिन सञ्चालनमा छन् र दैनिक करिब १०० जना बिरामीले सेवा लिइरहेका छन्। तर विशेषज्ञ चिकित्सक नहुँदा सेवा व्यवस्थापन फिजिसियनहरूको सहायतामा सीमित रहेको अस्पताल प्रशासनले जनाएको छ।
सूचना अधिकृत डा. सिंहका अनुसार मनोचिकित्सक र नेफ्रोलोजिस्ट दुवै पद पूर्तिका लागि सम्बन्धित मन्त्रालय तथा निकायमा पटक–पटक अनुरोध गरिए पनि अहिलेसम्म ठोस पहल हुन नसकेको गुनासो छ।
विशेषज्ञ चिकित्सकको अभावले केन्द्रीय अस्पतालमै आधारभूत सेवा प्रभावित हुन थालेपछि तत्काल पदपूर्तिको माग सरोकारवालाहरूले गरेका छन्।