नेपालको प्रमुख व्यापारिक केन्द्र वीरगञ्ज आज एउटा विरोधाभासपूर्ण अवस्थाको केन्द्रमा उभिएको छ । एकातर्फ देशको अर्थतन्त्र चलायमान बनाउने ऐतिहासिक व्यापारिक नाका, अर्कोतर्फ सडक विस्तारको नाममा भत्काइएका संरचना, उजाडिएका बजार र अस्तव्यस्त जनजीवन । विकासको नाममा भइरहेको यो रूपान्तरणले उत्साहभन्दा बढी प्रश्नहरू जन्माएको छ, के विकास सधैं यति पीडादायी हुनैपर्छ ?
त्रिभुवन राजपथ विस्तार योजनाअन्तर्गत करिब १,२०० घर तथा व्यवसायिक संरचना भत्काइएपछि वीरगञ्जको पुरानो स्वरूप एकाएक बदलिएको छ । कहिल्यै नरोकिने व्यापार, भीडभाड र आर्थिक गतिविधिको केन्द्र रहेको यो शहर आज धुलो, भग्नावशेष र सन्नाटामा परिणत भएको छ । कतिपय स्थानमा देखिने दृश्यले युद्धपछिको अवस्था सम्झाउँछ– आधा भत्किएका भवन, सडक किनारमा छरिएका इँटा र फलामका टुक्रा, अनि अस्तव्यस्त जीवन ।
विकास आवश्यक छ भन्नेमा कुनै विवाद छैन । फराकिलो सडक, सहज यातायात र आधुनिक पूर्वाधारले शहरको दीर्घकालीन भविष्यलाई सबल बनाउँछ । तर, प्रश्न यहाँ विकासको उद्देश्य होइन, त्यसको प्रक्रिया हो । विकास जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ, उनीहरूको जीवन अस्तव्यस्त बनाउनका लागि होइन ।
वीरगञ्जको ऐतिहासिक महत्वलाई नजरअन्दाज गर्न सकिँदैन । एक समय यहाँदेखि अमलेखगञ्जसम्म रेल सेवा सञ्चालनमा थियो, जसले व्यापारिक गतिविधिलाई गति दिएको थियो । पछि बनेको त्रिभुवन राजपथले वीरगञ्जलाई काठमाडौंसँग जोडेर देशको आर्थिक मेरुदण्डको रूपमा स्थापित ग¥यो । यही मार्ग आज विस्तारको नाममा फेरि परिवर्तन हुँदैछ, तर त्यसले ल्याएको संक्रमणकालीन अवस्था अत्यन्त पीडादायी देखिन्छ ।
सडक विस्तारका क्रममा अपनाइएको शैलीले स्थानीयवासीमा असन्तुष्टि बढाएको छ । केवल १२ घण्टाको सूचना दिई रातारात संरचना खाली गर्न भनिनु, त्यसपछि बिहानै डोजर चलाइनु, यो प्रक्रिया योजनाबद्धभन्दा बढी जबरजस्ती जस्तो देखिएको छ । वर्षौंदेखि व्यवसाय गर्दै आएका व्यापारीहरूलाई आफ्नो सामान व्यवस्थापन गर्ने पर्याप्त समय नदिइनु प्रशासनिक संवेदनशीलताको प्रश्न हो ।
विकास प्रक्रियामा मानवीय पक्षलाई बेवास्ता गर्नु दीर्घकालीन रूपमा घातक हुन सक्छ । व्यापारिक प्रतिष्ठानहरू एकै दिनमा बन्द हुँदा त्यसको असर केवल व्यवसायीमा मात्र सीमित रहँदैन । यसले रोजगारी, आपूर्ति श्रृंखला, स्थानीय अर्थतन्त्र र उपभोक्ता सबैलाई असर गर्छ । अहिले वीरगञ्जमा देखिएको सुस्तता त्यसैको उदाहरण हो । भत्काइपछि उत्पन्न धुलो, प्रदूषण र असुरक्षित वातावरणले जनस्वास्थ्यमा पनि गम्भीर असर पारेको छ । बालबालिका, वृद्धवृद्धा र मजदूर वर्ग बढी जोखिममा परेका छन् । सडक किनारमा बसेर दैनिक जीवन गुजार्ने मानिसहरूका लागि यो अवस्था थप चुनौतीपूर्ण बनेको छ । रातको समयमा उज्यालोको अभाव र आधा भत्किएका संरचनाले दुर्घटनाको जोखिम पनि बढाएको छ ।
सरकारी पक्षले भने यो अवस्थालाई दीर्घकालीन विकासको आधार भनेर व्याख्या गरिरहेको छ । ६ लेनको फराकिलो सडक निर्माण भएपछि यातायात सहज हुने, व्यापार वृद्धि हुने र शहर आधुनिक स्वरूपमा रूपान्तरण हुने दाबी गरिएको छ । तर, प्रश्न उठ्छ–के भविष्यको उज्यालो वर्तमानको अँध्यारोमा मात्र सम्भव हुन्छ ? के विकासले जनताको दैनिक जीवनलाई यति ठूलो पीडा दिनैपर्छ ?
डिभिजन सडक कार्यालयका अनुसार मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक विस्तार योजनामा अझै तीन वर्ष लाग्नेछ । यो अवधिभर शहर अझै निर्माणाधीन अवस्थामै रहनेछ । अर्थात्, वीरगञ्जका बासिन्दाले अझै लामो समय धुलो, असुविधा र अस्तव्यस्तताको सामना गर्नुपर्नेछ । यसबीच वीरगञ्ज महानगरपालिकाले शहरलाई सम्भावना र पीडाको दोबाटो भनेर चित्रण गरेको छ । यो भनाइ प्रतीकात्मक रूपमा सही भए पनि व्यवहारमा जनताले अहिले सम्भावनाभन्दा बढी पीडा महसुस गरिरहेका छन् ।
विकासका नाममा हुने परियोजनाहरू सफल हुन केवल पूर्वाधार निर्माण पर्याप्त हुँदैन । त्यसका लागि सामाजिक स्वीकार्यता, उचित व्यवस्थापन र मानवीय संवेदनशीलता आवश्यक हुन्छ । समयमै सूचना दिनु, उचित क्षतिपूर्ति सुनिश्चित गर्नु र वैकल्पिक व्यवस्था मिलाउनु राज्यको जिम्मेवारी हो ।
वीरगञ्जको वर्तमान अवस्था हामीलाई एउटा गम्भीर प्रश्न सोधिरहेको छ–विकास कसका लागि हो ? यदि विकासले नै नागरिकलाई विस्थापित, असुरक्षित र असन्तुष्ट बनाउँछ भने त्यो विकासको परिभाषा पुनः सोच्नुपर्ने हुन्छ । यो पनि सत्य हो कि कुनै पनि विकास बिना पीडा सम्भव हुँदैन । तर, त्यो पीडा व्यवस्थित, न्यूनतम र न्यायसंगत हुनुपर्छ । अस्थायी असुविधालाई स्थायी पीडामा बदल्नु विकास होइन, अव्यवस्थापन हो । वीरगञ्ज अहिले यही दोहोरो यथार्थमा छ–एकातर्फ उज्ज्वल भविष्यको आशा, अर्कोतर्फ वर्तमानको कठोर यथार्थ । धुलो, भग्नावशेष र सन्नाटाबीच पनि यहाँका बासिन्दाहरू नयाँ सुरुवातको प्रतीक्षा गरिरहेका छन् ।
अब राज्यको जिम्मेवारी केवल सडक बनाउनु मात्र होइन, जनताको विश्वास पनि पुनः निर्माण गर्नु हो । यदि विकासले जनताको जीवनमा आशा ल्याउन सक्दैन भने त्यो अधूरो विकास मात्र हुन्छ । समयले नै देखाउनेछ–यो पीडा साँच्चै समृद्धिको आधार बन्नेछ वा इतिहासमा केवल एक अव्यवस्थित रूपान्तरणको उदाहरणका रूपमा सीमित रहनेछ ।