जिल्ला प्रहरी कार्यालय पर्साले आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा सम्पादित कार्यहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतद्वारा जारी विज्ञप्तिअनुसार वैशाख महिनामा जिल्लाभर विभिन्न प्रकृतिका १४७ वटा अपराधका मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी अन्य विधातर्फ ४९ वटा रहेका छन्। यस्तै संगठित तथा आर्थिक अपराधतर्फ ३९, सामाजिक अपराधतर्फ २६, महिला तथा बालबालिका सम्बन्धी १२, आत्महत्यासम्बन्धी ८, चोरीका ९ तथा सवारी ज्यान र कर्तव्य ज्यान सम्बन्धी २–२ वटा मुद्दा दर्ता भएका छन्।
आर्थिक अपराधअन्तर्गत बैंकिङ कसूरका ३३, ठगीका ६ तथा जुवातास सम्बन्धी ३ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले वैशाख महिनामा चालु मुद्दाका १०६ जना प्रतिवादी पक्राउ गरेको छ भने अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत ११३ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जनाएको छ। पक्राउ परेकाहरूबाट ४४ वर्ष ३ महिना १२ दिन कैद असुल गरिएको तथा ३ करोड ९२ लाख ७३ हजार ४४८ रुपैयाँ जरिवाना संकलन गरिएको विज्ञप्तिमा उल्लेख छ।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत १८ वटा मुद्दा दर्ता गरी ३१ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूको साथबाट ८ केजी ५०० ग्राम गाँजा, १६ ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ४ केजी ३१ ग्राम चरेश तथा ३० हजार ५१७ ट्याब्लेट ट्रामाडोल बरामद गरिएको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीले २ हजार ८४० लिटर अवैध मदिरा बरामद गर्नुका साथै ३ वटा अवैध मदिरा भट्टी नष्ट गरेको छ। वन पैदावार चोरी तथा प्राकृतिक स्रोत दोहन नियन्त्रणका क्रममा ३८ क्युबिक फिट सालको काठ, ८ वटा साइकलसहित २ जनालाई पक्राउ गरी २ लाख ९० हजार रुपैयाँ जरिवाना गरिएको छ। अवैध गिटी–बालुवा उत्खननमा संलग्न ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिई १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।
सीमानाकाबाट हुने भन्सार छली तथा तस्करी नियन्त्रणका क्रममा प्रहरीले ३ करोड ६४ लाख ४९ हजार २९९ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। यस्तै राजस्व चुहावटतर्फ २६ लाख रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिइएको छ।
वैशाख महिनामा जिल्लाभर ६८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। दुर्घटनामा १२६ वटा सवारी साधन संलग्न रहेको प्रहरीले जनाएको छ। दुर्घटनामध्ये ४६ वटा चालकको लापरवाहीका कारण भएको पाइएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १७९ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ।
महिला तथा बालबालिका सेलमा वैशाख महिनामा ६३ वटा उजुरी दर्ता भएका थिए। हराएका ३६ जनामध्ये ३० जनालाई फेला पारी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। घरेलु हिंसासम्बन्धी ६३ उजुरीमध्ये ६१ वटामा स्थानीय तहमै मिलापत्र गराइएको छ।
अपराध न्यूनीकरणका लागि प्रहरीले समुदाय र विद्यालय केन्द्रित १२० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ। लागूऔषध, आत्महत्या, साइबर अपराध तथा ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा १ हजार ९२५ जना सहभागी भएका थिए।
यसैगरी ठोरी, पटेर्वासुगौली गाउँपालिका तथा वीरगञ्जको श्रीपुरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा १ हजार ८० जना नागरिक सहभागी भएका थिए। कार्यक्रममा सीसीटीभी जडान र लागूऔषध नियन्त्रणका विषयमा छलफल गरिएको थियो।
प्रहरी कर्मचारीको मनोबल बढाउन इन्टरनेट सुविधा विस्तार, जन्मदिनमा सामूहिक केक काट्ने व्यवस्था, योगाभ्यास तथा उत्कृष्ट प्रहरी युनिटलाई पुरस्कृत गर्ने कार्यक्रम सञ्चालन गरिएको पनि प्रहरीले जनाएको छ।
यसैबीच बेलायत सरकार र युएनओपीएसको सहयोगमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवनसमेत उद्घाटन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।