एण्टार्कटिकातर्फ जाँदै गरेको एक क्रूज जहाजमा घातक ह्यान्टाभाइरसको प्रकोप देखिएको छ, जसले तीन यात्रुको ज्यान लिएको छ भने अन्य यात्रुहरूमा पनि संक्रमण पुष्टि र शंका गरिएको छ। स्वास्थ्य अधिकारीहरूले दुर्लभ मानिने यो भाइरस सम्भावित रूपमा मानव–मानवमा समेत फैलिन सक्ने भएको भन्दै गम्भीर चासो व्यक्त गरेका छन्।
“एमभी होन्डियस” नामक क्रूज जहाज अप्रिल १ मा अर्जेन्टिनाबाट एण्टार्कटिकातर्फ प्रस्थान गरेको थियो। त्यसपछि जहाजमा रहेका यात्रुहरूमा संक्रमण देखिन थालेको बीबीसीको रिपोर्टमा उल्लेख छ।
अप्रिल ११ मा पहिलो मृत्यु भएको थियो, जसमा ७० वर्षीय डच पुरुषको ज्यान गएको थियो। त्यसपछि अप्रिल २६ मा उनकी ६९ वर्षीया श्रीमती र मे २ मा एक जर्मन महिलाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (WHO) ले पुष्टि गरेको छ।
पछि गरिएको परीक्षणमा ब्रिटिश नागरिकसहित कम्तीमा दुई यात्रुमा “एन्डिज स्ट्रेन” ह्यान्टाभाइरस पुष्टि भएको बताइएको छ। यो स्ट्रेन मुख्यतः अर्जेन्टिना र चिलीमा पाइन्छ र दुर्लभ अवस्थामा मानव–मानवमा सर्ने क्षमता भएको मानिन्छ।
विशेषज्ञहरूका अनुसार भाइरस संक्रमित मुसाको मल वा फोहोर सासमार्फत शरीरमा प्रवेश गर्छ। यद्यपि मानव–मानव संक्रमण अत्यन्तै दुर्लभ मानिन्छ, तर घनिष्ठ सम्पर्क र सीमित स्थानमा बसाइँका कारण फैलिएको हुन सक्ने आशंका गरिएको छ।
जहाजमा रहेका यात्रुहरूलाई हाल क्याबिनमै सीमित राखी क्वारेन्टिन, कन्ट्याक्ट ट्रेसिङ र निगरानी प्रक्रिया अपनाइएको छ, जुन कोभिड–१९ महामारीका बेला प्रयोग गरिएका उपायसँग मिल्दोजुल्दो छ।
“एन्डिज स्ट्रेन” ले ह्यान्टाभाइरस पल्मोनरी सिन्ड्रोम (HPS) नामक गम्भीर रोग निम्त्याउँछ, जसमा सुरुमा ज्वरो, थकान, मांसपेशी दुखाइ, टाउको दुखाइ जस्ता लक्षण देखिन्छन् र पछि श्वासप्रश्वासमा गम्भीर समस्या हुन सक्छ। यसको मृत्युदर २० देखि ४० प्रतिशतसम्म हुने बताइएको छ।
अनुसन्धानकर्ताहरूले संक्रमणको स्रोत पत्ता लगाउने प्रयास गरिरहेका छन्। यात्रुहरू अर्जेन्टिना र चिलीका विभिन्न स्थानमा यात्रा गरेका कारण, संक्रमण यात्रा अघि, यात्राका क्रममा वा जहाजमै भएको हुन सक्ने अनुमान गरिएको छ।
अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२५ जुनयता मात्रै देशमा १०१ ह्यान्टाभाइरसका केस दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा दोब्बर हो।
स्वास्थ्य अधिकारीहरूले पहिलो पटक २१ दिनअघि जहाजमै मृत्यु भएका यात्रुको परीक्षणपछि यो प्रकोपबारे अनुसन्धान सुरु गरेका थिए। पछि थप परीक्षणमा अन्य संक्रमितहरू पनि पुष्टि भएका छन्।
हाल विश्व स्वास्थ्य संगठनसहित विभिन्न देशका स्वास्थ्य निकायहरू घटनाको विस्तृत अनुसन्धानमा जुटेका छन् भने यात्रुहरूको सम्पर्क इतिहास ट्रेसिङ जारी छ।