शिक्षा, सामाजिक चेतना र महिलाको नेतृत्व क्षमताको बहस आजको समयमा अझ सान्दर्भिक बन्दै गएको छ । महिलाको भूमिका, नेतृत्व, अवसर र चुनौतीहरूबारे अनेक दृष्टिकोण प्रस्तुत हुँदै आएको छ । परिवारदेखि क्याम्पससम्म, समाजदेखि राजनीतिसम्म महिलाले भोग्नुपरेका वास्तविक अनुभव र सम्भावनाहरूलाई उजागर गर्न हामीले ठाकुरराम बहुमुखी क्याम्पसकी उपप्राध्यापक लक्ष्मी कर्ण दत्तसँग कुराकानी गरेका छौं । समाज परिवर्तनको मूल आधार मानिने शिक्षाक्षेत्रभित्रै रहेर लामो समयदेखि योगदान दिँदै आएकी कर्णसँग गरिएको कुराकानीको सार ः
महिलाको नेतृत्व भनेको के रहेछ ?
महिलाको नेतृत्व भन्नु हुन्छ भने परिवारदेखि समाज र अहिले कार्यस्थल हाम्रो नेतृत्वभन्दा पनि हाम्रो भूमिका धेरै फैलिएको छ । त्यसमा हामीले सन्तुलन गर्न नसके हाम्रो लागि धेरै चुनौती छ । हामीले परिवार र कामलाई सन्तुलन गर्नको लागि धेरै चुनौतीको सामना गर्नुपर्छ । हामी नेतृत्व गर्छौं, तर त्यो नेतृत्वमा चाहिँ महिलाहरूको जुन सम्भावना छ । उनीहरू खास गरेर बेइमानी गर्न चाहँदैनन् । हामी जे काम गरिरहेका छांै, त्यसमा सय प्रतिशत राम्रो होओस् भन्ने चाहन्छौं । घरमा पनि एउटा सफल गृहणी, सफल आमा र आफ्नो काममा पनि राम्रो महिला बनेर आउनु हुन्छ । त्यो गर्दागर्दै धेरै समय गुमेको हुन्छ । नेतृत्व गर्न नसक्ने होइन । तर, महिला र पुरुषको जिम्मेवारी समान छ । महिलाको व्यवस्थापन माइक्रो लेबलको छ । त्यो व्यवस्थापनमा धेरै समय लाग्छ । तपार्इं आफ्नो घरको व्यवस्थापन गरेर फेरि आफ्नो कार्यस्थलमा काम गर्न जानु पर्छ । त्यस्तो मनस्थिति कहिले हुँदैन । जे पढायो तिनीहरूले थोरै पढाउँदा उनीहरू बुझेको हुनुपर्छ । उनीहरू सन्तुष्ट भएनन् भने म सन्तुष्ट हुन्नँ । त्यो सन्तुष्टीको स्तर मेरो तयारी हुन्छ । म सन्तुष्ट भयो भने नेतृत्वमा आउने लायक हुन्छु भन्ने मैले ठान्छु ।
मधेशका छात्राहरूको अवस्था के छ ?
अहिले क्याम्पसहरूमा छात्रहरूको तुलनामा छात्राहरूको संख्या उल्लेखनीय रूपमा बढेको देखिन्छ । यसको एउटा प्रमुख कारण केटाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु हो भने, यहाँ रहेका धेरै केटाहरू पनि विभिन्न काममा संलग्न हुने भएकाले क्याम्पसमा उनीहरूको उपस्थिति कम देखिन्छ । त्यसको परिणामस्वरूप बिहानको समयमा कक्षाहरूमा छात्राहरूको सहभागिता बढी हुने अवस्था सिर्जना भएको छ । यस परिवर्तनसँगै शैक्षिक वातावरणमा पनि सकारात्मक सुधार देखिन थालेको छ । पहिलेको तुलनामा अहिले छात्राहरूले आफ्नो विचार खुला रूपमा व्यक्त गर्ने अवसर पाएका छन् र उनीहरूको सहभागिता नेतृत्व तहसम्म विस्तार हुँदै गएको अनुभव हुन्छ । पहिले पुरुष विद्यार्थीहरूको आवाज बढी सुनिने अवस्था थियो भने अहिले छात्राहरू पनि आत्मविश्वासका साथ आफ्ना विचार प्रस्तुत गर्न सक्षम भएका छन् । समग्रमा हेर्दा, विगतको तुलनामा अहिलेको शैक्षिक वातावरणमा ठूलो परिवर्तन आएको छ । महिला सहभागिता बढ्नुले क्याम्पसको समावेशीपन मात्र होइन, नेतृत्व विकासको सम्भावनालाई पनि नयाँ दिशा दिएको छ ।
महिला निर्णायक तहमा अझै पनि पछाडि हुनुलाई के भन्नुहुन्छ ?
महिलाहरूलाई सबै किसिमको शिक्षा प्रदान गर्नु अत्यन्त आवश्यक छ । समाजमा सकारात्मक परिवर्तन एकैचोटि सम्भव हुँदैन, यसका लागि समय, धैर्यता र निरन्तर प्रयास आवश्यक पर्छ । त्यसैले परिवर्तन विस्तारै हुँदै जान्छ भन्ने बुझाइ राख्नु जरुरी छ । आज पनि धेरै ठाउँमा छोरीहरूको शिक्षालाई केवल अंक र प्रमाणपत्रसँग मात्र जोडेर हेर्ने प्रवृत्ति देखिन्छ । उनीहरूले कति नम्बर ल्याए, कस्तो सर्टिफिकेट पाए भन्ने कुरामा मात्र ध्यान दिइन्छ, तर उनीहरूको सोच, क्षमता र नेतृत्व विकासतर्फ पर्याप्त ध्यान पुगेको देखिँदैन । शिक्षा केवल कागजी प्रमाणपत्रका लागि मात्र होइन, व्यवहारिक जीवन र नेतृत्व क्षमताका लागि पनि हुनुपर्छ । शिक्षासँगै संस्कार पनि उत्तिकै महत्वपूर्ण पक्ष हो । संस्कारयुक्त शिक्षा प्रदान गर्न सकेमात्र विद्यार्थीहरू जिम्मेवार, संवेदनशील र सक्षम बन्न सक्छन् । छोरीहरू वास्तवमा परिवारको आधारस्तम्भ हुन्, जसले घरलाई मात्र होइन, समाजलाई पनि सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेल्छन्। त्यसैले उनीहरूको शिक्षामा गुणस्तर र संस्कार दुवैलाई समान महत्व दिनुपर्छ । छोराछोरी दुवैमा राम्रो संस्कार हुनु आवश्यक छ। तर विशेषगरी छोरीहरूमा प्राकृतिक रूपमा हुने संवेदनशीलता, समझदारी र जिम्मेवारी भावनालाई सही दिशामा विकास गर्न सकियो भने उनीहरू परिवार, समाज र राष्ट्रको नेतृत्व गर्न सक्षम बन्न सक्छन् । नेतृत्वका लागि शिक्षा अनिवार्य छ, तर त्यो शिक्षा केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन । त्यसमा नैतिकता, संस्कार र व्यवहारिक सीप पनि समावेश हुनुपर्छ । पछिल्ला वर्षहरूमा यस क्षेत्रमा सकारात्मक परिवर्तन देखिन थालेको छ। पहिलेको तुलनामा अहिले शिक्षामा पहुँच र सोचमा विस्तार हुँदै गएको छ । तर अझै पनि संस्कारयुक्त र गुणस्तरीय शिक्षामा ध्यान दिन आवश्यक छ, ताकि भविष्यमा सक्षम, जिम्मेवार र सशक्त नेतृत्व तयार हुन सकोस् ।
पहिलाको अध्यापनशैली र आजको अध्यापनशैलीमा के फरक छ ?
पहिले विद्यार्थीहरूलाई कुनै विषय लेखाइदिँदा उनीहरू प्रायः म्याम, यसलाई देखाइदिनु न, हामीलाई पढ्न गाह्रो हुन्छ भन्ने गर्थे । त्यस समयमा सिकाइ धेरैजसो शिक्षककेन्द्रित हुने भएकाले विद्यार्थीहरू पूर्ण रूपमा शिक्षकमा निर्भर रहन्थे । तर, अहिले समय परिवर्तन भएको छ । इन्टरनेट र डिजिटल प्रविधिको विकाससँगै च्याटजीपीटीजस्ता उपकरणहरू उपलब्ध छन्, जसले विद्यार्थीहरूलाई विषय बुझ्न र अवधारणा स्पष्ट गर्न ठूलो सहयोग पु¥याइरहेका छन् । आजका विद्यार्थीहरू कक्षाकोठामा सिकेको कुरामात्र नभई घरमै बसेर पनि थप अध्ययन गर्न सक्षम भएका छन् । उनीहरूले आफू पढिरहेको विषयको गहिरो बुझाइ हासिल गर्न विभिन्न स्रोतहरूको उपयोग गर्छन् । इन्टरनेटको पहुँच बढेसँगै अध्ययनका अवसरहरू पनि प्रशस्त भएका छन्, जसले सिकाइलाई अझ सहज र प्रभावकारी बनाएको छ । यद्यपि सबै विद्यार्थीहरू समान रूपमा सक्रिय छैनन् । केही विद्यार्थीहरू अत्यन्त मेहनती छन् र निरन्तर अध्ययनमा लागिरहेका हुन्छन् । ठाकुरराम क्याम्पसप्रति बाहिर एउटा धारणा बनेको छ कि यहाँ केवल राजनीति मात्र हुन्छ, तर वास्तविकता त्यस्तो होइन । यहाँ दुई प्रकारका विद्यार्थीहरू देखिन्छन् । एक समूह पूर्ण रूपमा अध्ययनमा केन्द्रित हुन्छ भने अर्को समूह अतिरिक्त गतिविधि वा राजनीतिमा संलग्न हुन्छ । वास्तवमा राजनीति पनि जीवनको एउटा सिकाइको माध्यम हो, त्यसलाई नकारात्मक रूपमा लिनु उचित हुँदैन । विद्यार्थीहरूले आफ्नो रुचि र उद्देश्यअनुसार दुवै पक्षबाट सिक्न सक्छन् । पहिले शिक्षकले नै सबै कुरा लेखेर बुझाउनुपर्ने अवस्था थियो, तर अहिले विद्यार्थीहरू आफैं पढ्न, बुझ्न र लेख्न सक्षम भएका छन् । यसले शिक्षण सिकाइ प्रक्रियालाई अझ प्रभावकारी र आधुनिक बनाएको छ ।
तपाईंको नेतृत्व कस्तो रह्यो ?
मेरो नेतृत्व अनुभवको कुरा गर्दा, म कक्षा सञ्चालनबाहेक समग्र क्याम्पसको व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएको छैन । हालसम्म ठाकुरराम बहुमुखी क्याम्पसमा महिलाहरू उच्च प्रशासनिक पदमा पुगेका उदाहरण कम देखिन्छन्, तर त्यस प्रकारको जिम्मेवारी सम्हाल्न हामी पूर्ण रूपमा सक्षम छौं भन्ने मेरो विश्वास छ । यस विषयमा कसैले पनि हाम्रो क्षमतामाथि प्रश्न उठाउन सक्दैन । महिलाहरू पनि पुरुष सरह वा अझ प्रभावकारी रूपमा नेतृत्व गर्न सक्छन् । तर, हाम्रो प्रमुख चुनौती भनेको पारिवारिक जिम्मेवारी र पेशागत जीवनबीच सन्तुलन कायम गर्नु हो। परिवारलाई समय दिनुपर्ने बाध्यता र क्याम्पसमा पर्याप्त समय दिनुपर्ने जिम्मेवारीबीच तालमेल मिलाउनु महिलाहरूका लागि ठूलो चुनौती हुन्छ । तर, यदि अवसर प्राप्त भयो भने महिलाहरूले सहजै नेतृत्व सम्हाल्न सक्छन् । नेतृत्व केवल ठूलो पदमा बस्ने कुरा मात्र होइन, बरू आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नु पनि हो । यदि शिक्षकले समयमा कक्षामा पुगेर विद्यार्थीलाई उचित रूपमा मार्गदर्शन गर्छ र उनीहरूको समस्या समाधान गर्छ भने त्यो पनि एक सफल नेतृत्वको उदाहरण हो । म आफैंले लिएको जिम्मेवारीलाई सकेसम्म इमानदारीपूर्वक पूरा गर्ने प्रयास गर्दै आएकी छु । कक्षा सञ्चालन, विद्यार्थीको मार्गदर्शन र उनीहरूको शैक्षिक समस्याको समाधानमा सक्रिय रहँदा त्यसले मेरो नेतृत्व क्षमतालाई व्यवहारिक रूपमा प्रस्तुत गरेको छ । मेरो बुझाइमा, नेतृत्व पदले होइन, कामप्रतिको निष्ठा र जिम्मेवारीले प्रमाणित हुन्छ ।
राजनीतिमा महिलाको सार्थक सहभागिता किन हुन नसकेको होला ?
राजनीतिक क्षेत्रमा सबैभन्दा पहिले शक्ति र पैसाको कुरा आउँछ । अहिलेको अवस्थामा राजनीति गर्नका लागि केवल योग्यता वा क्षमताले मात्र पर्याप्त नहुने जस्तो देखिन्छ । धेरै ठाउँमा पैसा र पहुँच भएका व्यक्तिहरूले मात्र सहज रूपमा राजनीतिक गतिविधिमा सक्रिय हुन सक्ने अवस्था बनेको छ । तर, प्रश्न उठ्छ–के राजनीति केवल आर्थिक हैसियत भएकाहरूका लागि मात्र हो त ? यदि पैसा नै मुख्य आधार बन्ने हो भने सामान्य नागरिक वा सक्षम व्यक्तिहरूको भूमिका कहाँ रहन्छ ? सबैसँग समान आर्थिक स्रोत हुँदैन, र धेरैसँग त यस्तो स्रोत नै हुँदैन जसले ठूलो राजनीतिक प्रतिस्पर्धामा प्रवेश गर्न सकियोस् । अझ गम्भीर कुरा के छ भने, कतिपय अवस्थामा पैसाको स्रोत नै पारदर्शी नहुन सक्छ, जसले भ्रष्टाचारको सम्भावनालाई पनि बढाउँछ । यस्तो अवस्थामा योग्य र इमानदार व्यक्तिहरू पछाडि पर्न सक्छन् । अध्ययनहरूका अनुसार भ्रष्टाचारका घटनामा पुरुषहरूको संलग्नता बढी देखिएको पनि उल्लेख गरिन्छ । त्यसैले महिलाहरू तुलनात्मक रूपमा बढी इमानदार र जिम्मेवार हुने धारणा पनि धेरैले राख्छन् । यदि कुनै व्यक्ति इमानदार छ र गलत बाटो अपनाउन चाहँदैन भने उसले ठूलो आर्थिक स्रोत संकलन गर्न कठिन हुन्छ, जसले गर्दा राजनीतिक प्रतिस्पर्धामा पनि पछि पर्न सक्छ । राजनीतिक क्षेत्रमा अहिले पनि आर्थिक शक्ति, पहुँच र चलखेलको प्रभाव बढी देखिन्छ । त्यसैले राजनीति सबैका लागि समान अवसरयुक्त बनाउन पारदर्शिता, योग्यता र इमानदारीलाई प्राथमिक आधार बनाउन आवश्यक छ ।
नेतृत्व तहमा महिला कुन तहमा हुँदा राम्रो हुन्छजस्तो लाग्छ ?
महिलाहरू धेरै क्षेत्रमा सक्षम र सफल देखिए पनि जोखिम लिने क्षमताको सन्दर्भमा भने केही चुनौतीहरू रहेको पाइन्छ । सामान्यतया महिलाहरूले सुरक्षित र सुनिश्चित बाटो रोज्ने प्रवृत्ति देखिन्छ, जसले गर्दा उच्च जोखिम भएका क्षेत्रमा उनीहरूको सहभागिता तुलनात्मक रूपमा कम हुन सक्छ । मैले एमफिल अध्ययनका क्रममा वीरगञ्जमा महिला उद्यमीहरूबारे गरेको अनुसन्धानमा पनि यस्तै पक्षहरू देखिएको थियो । धेरै महिलाहरू उद्यम गर्न इच्छुक भए पनि लगानी, बजार अनिश्चितता र सम्भावित घाटाजस्ता जोखिमका कारण उनीहरू पूर्ण रूपमा अगाडि बढ्न हिचकिचाउने अवस्था पाइयो । त,र यसको अर्थ महिलाहरू काम गर्न चाहँदैनन् भन्ने होइन । बरू उनीहरू जिम्मेवार र सुरक्षित ढंगले काम गर्न चाहने भएकाले जोखिमपूर्ण निर्णयहरूमा अलि सतर्क देखिन्छन् । यही कारणले कतिपय अवस्थामा उनीहरू अवसर गुमाउने अवस्था पनि आउन सक्छ । त्यसैले महिलाहरूको क्षमता होइन, जोखिम व्यवस्थापनको वातावरण र समर्थन प्रणाली अझ सुदृढ बनाउन आवश्यक छ । उचित तालिम, आर्थिक सुरक्षा र प्रोत्साहन उपलब्ध गराउन सके महिलाहरू पनि उच्च जोखिम भएका क्षेत्रमा सफलतापूर्वक अघि बढ्न सक्छन् ।
महिलाको आर्थिक अवस्था कस्तो पाउनुभएको छ ?
महिला उद्यमीहरूको अवस्था हेर्दा धेरैजसो ठाउँमा नाममा मात्र उद्यमी देखिने, तर वास्तविक सञ्चालन भने पुरुषहरूले गर्ने अवस्था पनि भेटिन्छ। कतिपय व्यवसायहरू महिलाको नाममा दर्ता भए पनि यसको व्यवस्थापन, सञ्चालन र निर्णय प्रक्रियामा पुरुषहरूको भूमिका बढी हुने गरेको पाइन्छ । महिलाहरूले ठूलो मात्रामा ऋण लिएको अवस्था कमै देखिन्छ । धेरैजसो महिला उद्यमीहरूले आफ्नै बचत, परिवारको सहयोग वा सानो स्तरको लगानीबाट व्यवसाय सुरु गरेको पाइन्छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनु उनीहरूका लागि अझै पनि सहज प्रक्रिया बनेको छैन । कागजी प्रक्रिया, धितोको व्यवस्था र अन्य झन्झटिलो प्रणालीले गर्दा धेरै महिलाहरू औपचारिक वित्तीय स्रोतमा पहुँच बनाउन कठिनाइ भोगिरहेका छन् ।
अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरूमा महिलाप्रति विश्वासको स्तर पनि अपेक्षाकृत कम भएको देखिन्छ । कतिपय अवस्थामा महिलाको सट्टा पुरुष सदस्यलाई प्राथमिकता दिने प्रवृत्तिसमेत देखिन्छ । यसले महिलाहरूलाई आर्थिक रूपमा अझै पनि पछाडि पार्ने अवस्था सिर्जना गर्छ । महिलामाथि तुलनात्मक रूपमा बढी शंका गरिने कारण उनीहरूको आर्थिक निर्णय क्षमता वा सम्पत्तिमाथिको पूर्ण अधिकार अझै सीमित रहेको सामाजिक संरचना पनि हुन सक्छ । समाजमा महिलाको आर्थिक स्वतन्त्रता र सम्पत्तिमा निर्णायक भूमिका सीमित हुँदा उनीहरूमा भविष्यप्रतिको अनिश्चितताको भावना पनि बढ्छ । भोलि के हुन्छ ? भन्ने डरका कारण धेरै महिलाहरू ठूलो जोखिम लिन हिचकिचाउने अवस्था हुन्छ। यही कारणले बैंक तथा वित्तीय संस्थाहरूले पनि महिलाको नाममा दिइएको ऋणको रिकभरीबारे थप शंका गर्ने प्रवृत्ति देखिन्छ ।
महिला उद्यमशीलताको विकासका लागि केवल अवसरमात्र होइन, विश्वास, सहज वित्तीय पहुँच र सामाजिक दृष्टिकोणमा पनि परिवर्तन आवश्यक देखिन्छ । जबसम्म महिलालाई समान रूपमा आर्थिक निर्णय गर्ने अधिकार, सहज ऋण सुविधा र संस्थागत विश्वास प्रदान गरिँदैन, तबसम्म उनीहरूको उद्यमशीलता पूर्ण रूपमा विकसित हुन कठिन हुन्छ ।