उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले विस्फोटक पदार्थ तथा निर्वाचन कसुर मुद्दामा थुनामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका चौधरीलाई निर्वाचनअघि प्रहरीले विस्फोटक पदार्थसहित पक्राउ गरेको थियो । यसअघि पर्सा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
बिहीबार न्यायाधीश गोकर्ण डाँगी र दुर्गा प्रसाद ढुंगेलको संयुक्त इजलासले जिल्ला अदालतको चैत १२ गतेको आदेश बदर गर्दै २ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको उच्च अदालत वीरगञ्जका सूचना अधिकारी ध्रुव सुबेदीले जानकारी दिए ।
चौधरीविरुद्ध विस्फोटक पदार्थ तथा निर्वाचनसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । उनी हाल वीरगञ्ज कारागारमा रहेका थिए ।
चौधरीको पक्षबाट अधिवक्ता रामचन्द्र सिंह र सुधिरकुमार कर्णले बहस गरेका थिए भने सरकारका तर्फबाट उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठले बहस गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअघि, चैत १९ गते प्रहरीले चौधरी सवार गाडीबाट विस्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको भन्दै उनलाईसहित चार जनालाई पक्राउ गरेको थियो ।
उक्त घटनापछि पर्सा जिल्ला अदालतले चौधरीलाई थुनामा पठाउने तथा अन्य तीन जनासँग धरौटी माग गर्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध चौधरी पक्ष उच्च अदालत पुगेको थियो ।
चौधरीसँगै पक्राउ परेका पर्सागढी नगरपालिका–३ का सत्यनारायण दास थारु, धनुषाधाम नगरपालिका निवासी सुरज कार्की र बाराको प्रसौनी गाउँपालिका–४ निवासी चालक सहाब आलम अन्सारीलाई भने यसअघि नै धरौटीमा रिहा गर्न आदेश भएको थियो ।