आजको युग सूचना, प्रविधि र तीव्र सञ्चारको युग हो । एउटा मोबाइल फोन र इन्टरनेटको पहुँचले संसारलाई हाम्रो हातको स्क्रिनमा सीमित गरिदिएको छ । ज्ञान, सूचना र विश्वसँग जोडिने यो माध्यम अवसरको रूपमा आएको भए पनि यसको प्रयोगले हाम्रो जीवनशैली, सोच र सामाजिक दायित्वबोधमा गहिरो प्रभाव पारिरहेको छ । अहिलेको यथार्थ हेर्दा एउटा गम्भीर प्रश्न उठ्छ–हाम्रो समय समाज निर्माणमा खर्च भइरहेको छ कि सामाजिक सञ्जालमा खेर गइरहेको छ ? आज बच्चादेखि वृद्धसम्मको ठूलो हिस्सा सामाजिक सञ्जालमा रमाइरहेको छ । बिहान आँखा खुल्नेबित्तिकै मोबाइल हेर्ने बानी र राति निदाउनुअघि अन्तिम पटक स्क्रिनमै नजर जाने संस्कार विकसित भएको छ । दिनभर ‘व्यस्त’ भएको दाबी गर्ने हामीसँग समाजका लागि केही घण्टा होइन, केही मिनेट निकाल्न पनि कठिन भइरहेको छ । तर फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्राम वा अन्य सामाजिक सञ्जालमा घण्टौं बिताउन हामीलाई कुनै अप्ठ्यारो लाग्दैन । यो केवल समयको खर्च मात्र होइन, हाम्रो प्राथमिकताको परिवर्तन पनि हो ।
आज हामी समाज बदल्ने बहस धेरै गर्छौं, तर समाज बदल्ने काममा भने कमै देखिन्छौं । अरूको कमजोरी औंल्याउन हामी निकै अगाडि छौं, तर आफ्नै जिम्मेवारी स्वीकार गर्न भने पछि हट्छौं । सामाजिक सञ्जालमा बसेर देशको राजनीति, नेताको आलोचना, अरूको जीवनशैली र भाइरल विषयमा टिप्पणी गर्न हामी सक्रिय छौं, तर आफ्नै गाउँ–टोलका समस्याप्रति मौन छौं । आफ्नो वडामा बनिरहेको सडकको गुणस्तर कस्तो छ, विद्यालयमा शिक्षाको अवस्था के छ, स्वास्थ्य संस्था प्रभावकारी छन् कि छैनन्, सार्वजनिक सेवा पारदर्शी छ कि छैन ? यी प्रश्नमा हाम्रो चासो न्यून छ । जहाँ हाम्रो प्रत्यक्ष भूमिका हुनुपथ्र्यो, त्यहीँ हाम्रो मौनता देखिन्छ । समाज केवल सरकारको योजनाले मात्र बन्दैन; समाज नागरिकको चेतना, सहभागिता र जिम्मेवारीले बन्छ । अहिले नेपाल संघीय संरचनामा अघि बढिरहेको छ । स्थानीय, प्रदेश र संघीय गरी तीन तहका सरकार सक्रिय छन् । तर, सरकार जति सक्रिय भए पनि नागरिक निष्क्रिय भयो भने विकासको गति अपेक्षित हुन सक्दैन । लोकतन्त्र केवल मतदान गर्ने प्रणाली होइन, यो निरन्तर सहभागिता, निगरानी र उत्तरदायित्व सुनिश्चित गर्ने प्रक्रिया पनि हो। निर्वाचनमा मतदान गरेर नागरिकको भूमिका समाप्त हुँदैन, बरु त्यहीँबाट वास्तविक भूमिका शुरू हुन्छ ।
आज पनि हाम्रो समाजमा बोक्सी प्रथा, बालविवाह, दाइजो प्रथा, छुवाछुत, लैङ्गिक विभेद, घरेलु हिंसा र अन्धविश्वासका अनेक रूप जीवित छन् । यस्ता विकृति हटाउन कानूनमात्र पर्याप्त हुँदैन, समाजको चेतना र नागरिकको सक्रियता अनिवार्य हुन्छ । जब समाज बोल्छ, परिवर्तन सम्भव हुन्छ । जब नागरिक सचेत बन्छ, नेतृत्व जवाफदेही बन्छ । जब समुदाय एकजुट हुन्छ, कुरीतिमाथि प्रहार हुन्छ । तर, हामीले परिवर्तनको त्यो ऊर्जा व्यवहारमा होइन, धेरैजसो सामाजिक सञ्जालको बहसमा सीमित गरेका छौं । इतिहास साक्षी छ–हरेक ठूलो परिवर्तनको केन्द्रमा सचेत नागरिक नै रहेका छन् । चाहे राजनीतिक परिवर्तन होस्, सामाजिक जागरण होस् वा अधिकारको आन्दोलन । नागरिक समाजको भूमिका सधैं निर्णायक रहँदै आएको छ । व्यवस्था परिवर्तनका लागि जनताको आवाज आवश्यक थियो, र आज अवस्था परिवर्तनका लागि पनि नागरिककै जागरण अपरिहार्य छ । यदि नागरिक निष्क्रिय भयो भने लोकतन्त्रको आत्मा कमजोर हुन्छ, सुशासन केवल नारामा सीमित हुन्छ र विकास कागजमै सीमित रहने खतरा बढ्छ ।
आज आवश्यक कुरा सामाजिक सञ्जालको प्रयोग बन्द गर्नु होइन, यसको सही उपयोग गर्नु हो। सामाजिक सञ्जाललाई चेतना, सूचना, सकारात्मक अभियान र जनचासोका विषय उठाउने माध्यम बनाउन सकिन्छ। तर जब यही माध्यम हाम्रो समय, सोच र जिम्मेवारीलाई निगल्न थाल्छ, तब यसले समाज निर्माणको यात्रालाई कमजोर बनाउँछ । त्यसैले अब हामीले आफैँलाई प्रश्न गर्नुपर्छ–हामी केवल दर्शक बनेर बस्ने कि परिवर्तनका सहभागी बन्ने ?
हामीले आफ्नो दैनिक जीवनबाट थोरै समय समाजका लागि छुट्याउनुपर्छ । टोलको सरसफाई अभियानमा सहभागी बन्न सकिन्छ, विद्यालय सुधारका बहसमा जोडिन सकिन्छ, सामाजिक कुरीतिविरुद्ध आवाज उठाउन सकिन्छ, विकास निर्माणको निगरानी गर्न सकिन्छ, स्थानीय सरकारलाई जवाफदेही बनाउन सकिन्छ । सानासाना प्रयासहरूले नै ठूलो परिवर्तनको आधार तयार गर्छन् । अन्तत, समाज निर्माण फेसबुकको पोस्टले होइन, नागरिकको सक्रियताले हुन्छ । टिकटकको बहसले होइन, व्यवहारिक योगदानले हुन्छ । आलोचनाले होइन, सहभागिताले हुन्छ । अब समय सामाजिक सञ्जालमा हराउने होइन, समाज निर्माणमा आफूलाई समर्पित गर्ने हो । किन कि परिवर्तनको प्रतीक्षा गरेर होइन, परिवर्तनको हिस्सा बनेरमात्र समृद्ध समाज निर्माण गर्न सकिन्छ ।