घरेलु मैदानमा बलिङ आक्रमणले अमेरिका थला पारेपछि नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सिरिजमा सहज लक्ष्य पाएको छ।
त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमै समेटियो, जसपछि नेपाललाई जितका लागि १९६ रनको लक्ष्य प्राप्त भएको हो।
अमेरिकाको पारीमा ओपनर स्मित पटेलले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै इनिङ सम्हालेका थिए। उनले शेहान जयसुर्यासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरे। शेहान जयसुर्या ५२ बलमा ५० रन बनाएर आउट भए।
एक समय १२२ रनमा एक विकेट मात्र गुमाएको अमेरिका त्यसपछि भने लगातार विकेट गुमाउँदै दबाबमा आएको थियो। नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै अमेरिकी मध्यक्रमलाई टिक्न दिएनन्।
अमेरिकाका अन्य ब्याटरमध्ये मिलिन्द कुमारले २८ रन, कप्तान साइतेजा मुक्कमल्लाले ४ रन, शायन जहाँगीरले ६ रन, शुभम रञ्जानेले २ रन, सञ्जय कृष्णमूर्तिले १ रन र हर्मित सिंहले १४ रन बनाए। मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमा आउट भए भने शौरभ नेत्रभाल्कर अविजित रहे।
नेपालका लागि बलिङमा उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। सोमपाल कामीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र गुल्सन झाले १/१ विकेट लिए।
अब नेपालले १९६ रनको लक्ष्य पछ्याउँदै जिततर्फ अघि बढ्नेछ।