आधुनिक जीवनशैलीमा बिहानको सुरुवात एक कप तातो कफीबाट गर्ने बानी तीव्र रूपमा बढ्दै गएको छ। धेरै मानिसका लागि कफी केवल पेय पदार्थ मात्र नभई ऊर्जा प्राप्त गर्ने र कार्यक्षमता बढाउने महत्वपूर्ण माध्यम बनेको छ। तर स्वास्थ्य विशेषज्ञहरूका अनुसार ठिक्क मात्रामा कफी सेवन लाभदायक भए पनि अत्यधिक प्रयोगले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन्।
विशेषज्ञहरूको भनाइअनुसार कफीमा पाइने क्याफिनले मस्तिष्कमा डोपामाइनको स्तर बढाई तत्काल ऊर्जा र एकाग्रता बढाउन मद्दत गर्छ। विभिन्न अध्ययनहरूले दिनमा १ देखि २ कप कफी सेवनले टाइप–२ मधुमेहको जोखिम कम गर्न सहयोग पुर्याउने देखाएको छ। साथै, क्याफिनले शरीरको मेटाबोलिजम दर बढाएर तौल नियन्त्रणमा पनि सहयोग गर्ने, तथा अल्जाइमर्स र पार्किन्सन्स जस्ता मस्तिष्कसम्बन्धी रोगको जोखिम घटाउन सक्ने सम्भावना रहेको बताइएको छ। कफीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइने भएकाले यसले शरीरका कोषिकाहरूलाई क्षति हुनबाट जोगाउने भूमिका समेत खेल्ने चिकित्सकहरू बताउँछन्।
तर, अत्यधिक वा गलत समयमा कफी सेवन गर्दा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने पनि विशेषज्ञहरूको भनाइ छ। सुत्नुअघि कफी पिउँदा अनिद्रा, थकान र टाउको दुख्ने समस्या देखिन सक्छ। अत्यधिक क्याफिनले रक्तचाप र मुटुको धड्कन असामान्य बनाउने, पाचन प्रणालीमा असर गरी ग्यास्ट्रिक तथा एसिडिटी बढाउने जोखिम पनि रहन्छ। लामो समयसम्म बढी कफी सेवन गर्दा शरीरमा क्याफिनको लत बस्ने, साथै क्याल्सियम सोस्ने प्रक्रियामा असर परी हड्डी कमजोर हुन सक्ने सम्भावना पनि चिकित्सकहरूले औंल्याएका छन्।
स्वास्थ्य विज्ञहरूले कफी सेवनलाई नियन्त्रणमा राख्न सुझाव दिएका छन्। उनीहरूका अनुसार दिनमा २ देखि ३ कपभन्दा बढी कफी नपिउनु, खाली पेटमा सेवन नगर्नु, सकेसम्म चिनी तथा क्रिमबिनाको कफी रोज्नु र सुत्नुभन्दा कम्तीमा ६ घण्टा अगाडि कफी सेवन बन्द गर्नु उपयुक्त हुन्छ। साथै, उच्च रक्तचाप, मुटुको समस्या वा ग्यास्ट्रिक भएका व्यक्तिले कफी सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्नेमा जोड दिइएको छ।