अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिकामा गरिएको संयुक्त सैन्य कारबाहीमा इस्लामिक स्टेट (आइसिस) का विश्वव्यापी ‘दोस्रो नम्बर’ नेता मारिएको दाबी गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै अमेरिकी र नाइजेरियाली सेनाको संयुक्त मिसन “पूर्ण रूपमा सफल” भएको र विश्वकै सबैभन्दा सक्रिय आतंककारीमध्ये एकलाई समाप्त गरिएको बताएका छन्। उनले मारिएको व्यक्ति अबु–बिलाल अल–मिनुकी रहेको उल्लेख गरेका छन्।
अल–मिनुकीलाई अमेरिकाले सन् २०२३ मै ‘स्पेसियली डेजिग्नेटेड ग्लोबल टेरोरिस्ट’ को सूचीमा राखेको थियो।
नाइजेरियाली सेनाले भने यस कारबाहीबारे अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन। यदि उनको मृत्यु पुष्टि भएमा सन् २०१९ मा आइसिस नेता अबु बकर अल–बगदादी मारिएपछि संगठनका लागि यो अर्को ठूलो धक्का हुने बताइएको छ।
ट्रम्पले अपरेशनबारे थप विवरण वा समयरेखा सार्वजनिक गरेका छैनन्। उनले उक्त कारबाहीलाई आइसिसको अफ्रिकी तथा विश्वव्यापी सञ्जालका लागि ठूलो झट्का भएको दाबी गर्दै वित्तीय र कमान्ड संरचना कमजोर बनाउने बताएका छन्।
उनका अनुसार अल–मिनुकी, जसलाई अबु बकर इब्न मुहम्मद इब्न अली अल–माइनुकी पनि भनिन्छ, अफ्रिकाभर फैलिएका आइसिस सम्बन्धित समूहहरूको नेतृत्व गर्थे। विशेषगरी उनी इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रान्तसँग जोडिएका थिए, जसले चाड ताल क्षेत्र र साहेल क्षेत्रमा प्रभाव जमाएको छ।
ट्रम्पले नाइजेरिया सरकारलाई सहकार्यका लागि धन्यवाद दिँदै अल–मिनुकी अब अफ्रिकी जनतामाथि आतंक फैलाउन र अमेरिकाविरुद्ध आक्रमण योजना बनाउन नसक्ने बताएका छन्।
नाइजेरिया र अमेरिका पछिल्लो समय आतंकवादविरुद्धको लडाइँमा सैन्य सहकार्य बढाइरहेका छन्। यसअघि पनि अप्रिलमा नाइजेरियाको उत्तर–पूर्वी आदामावा राज्यमा भएको आक्रमणमा २९ जनाको मृत्यु भएपछि आइसिसले जिम्मेवारी लिएको थियो।
त्यस्तै, गत क्रिसमसमा पनि अमेरिकी र नाइजेरियाली सेनाले सोकोटो राज्यमा आइसिस सम्बन्धित समूहलाई लक्षित गर्दै संयुक्त हवाई आक्रमण गरेका थिए।