वीरगञ्जमा संयुक्त बजार अनुगमन टोलीले विभिन्न होटल तथा क्यान्टिनमा छड्के अनुगमन गर्दै मापदण्ड विपरीत सञ्चालन भइरहेका व्यवसायमाथि कारबाही गरेको छ। अनुगमनका क्रममा दर्ताबिनै सञ्चालन, फोहोर किचेन, खुला खाद्य सामग्री बिक्री र सरसफाइमा लापरवाही भेटिएपछि व्यवसायीहरूलाई तत्काल जरिवाना गरिएको हो।
जिल्ला प्रशासन कार्यालय पर्साको नेतृत्वमा भएको अनुगमनमा अधिकांश होटल तथा क्यान्टिनले आधारभूत स्वच्छता मापदण्डसमेत पालना नगरेको पाइएको टोलीले जनाएको छ। कामदारहरूले व्यक्तिगत सरसफाइमा ध्यान नदिएको, खाद्य सामग्री असुरक्षित रूपमा राखिएको तथा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधि देखिएपछि कारबाही गरिएको हो।
वीरगञ्ज महानगरपालिका–१३ स्थित यातायात कार्यालय रोडमा रहेको तराई हस्पिटलभित्र सञ्चालित क्यान्टिन दर्ताबिनै सञ्चालन गरिएको, सरसफाइ कमजोर रहेको तथा स्वच्छता मापदण्ड उल्लंघन गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी सोही क्षेत्रमा सञ्चालित ज्योती मगर होटललाई २० हजार रुपैयाँ तथा उर्मिला महतोद्वारा सञ्चालित होटललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। बुद्ध होटललाई भने आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पर्क राख्न निर्देशन दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको संयोजकत्वमा भएको अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा प्रहरीको सहभागिता रहेको थियो।
टोलीले होटल, रेस्टुरेन्ट तथा खाद्य सामग्री बिक्री गर्ने व्यवसायीलाई उपभोक्ताले तिरेको मूल्यअनुसार गुणस्तरीय सेवा, सुरक्षित खाद्य सामग्री र स्वच्छ वातावरण उपलब्ध गराउन निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका व्यवसायमा लापरवाही सह्य नहुने चेतावनी दिँदै आगामी दिनमा अझ कडाइका साथ अनुगमन जारी रहने जनाएको छ।
केही दिनअघि मात्रै यही टोलीले खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्दै बरामद मासु जफत गरी नष्ट गरेको थियो। पछिल्ला अनुगमनले बजारलाई स्वच्छ र उपभोक्ता–मैत्री बनाउन प्रशासन सक्रिय देखिएको स्थानीयको भनाइ छ।