वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ९९ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागले सो अवधिका लागि २ खर्ब २३ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तोकेको भए पनि कार्यालयले लक्ष्यको ८९.३५ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको हो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षमा राजस्व संकलन सन्तोषजनक रहेको छ। उनका अनुसार पेट्रोलियम पदार्थ, सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयात नै राजस्वको प्रमुख स्रोत बनेको छ।
भन्सार विभागले भने वार्षिक रूपमा कार्यालयलाई २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ। चालु आर्थिक वर्षका अझै दुई महिना बाँकी रहेकाले थप राजस्व संकलन हुने अपेक्षा गरिएको छ।
महिनागत विवरणअनुसार कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७३ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मंसिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
त्यस्तै, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड तथा वैशाखमा २१ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी विष्टले जानकारी दिएका छन्।