डा. सुनिलकुमार पटेल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर फिजिसियन हुन् । उनले चीनबाट एमडी गरेका छन् । चितवन मेडिकल कलेजबाट पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिनको अध्ययन गरेका उनले नेपालका विभिन्न हस्पिटलहरुमा सेवा गरिसकेका छन् । हाल वीरगञ्ज हेल्थ केयर हस्पिटलमा सेवा दिँदै आएका डा. पटेलसँग फोक्सोको समस्याबारे गरिएको कुराकानी ः
फोक्सोमा कस्ता समस्याहरु देखिन्छ ?
फोक्सोमा बढी गरेर दम रोग, धम्कीका समस्याहरु प्राय हुने गर्दछ । टिबी, निमोनिया, एलर्जी संक्रमणले गर्दा फोक्सोमा समस्या देखा पर्छ । धेरै जसो धुमपान, वातावरणको प्रदूषणले गर्दा फोक्सोमा समस्या देखिन्छ । मानिसलाई टिबी रोग लागेमा फोक्सोलाई बिगार्ने, फोक्सोमा खत बस्ने, फोक्सो कमजोर हुने हुन्छ । यी रोगबाहेक अन्य रोगको कारणले पनि फोक्सोमा असर पर्न सक्छ । फोक्सोमा क्यान्सर, आइएलडी रोग पनि हुन सक्छ । फोक्सोसम्बन्धी कुनै पनि रोग लागेमा पहिला खोकी लाग्ने र बिस्तारै स्याँस्याँ हुने हुन्छ । निमोनिया र दम रोगलाई सामान्य मानेर खोकी लागेमा औषधि पसलबाट कफ सिरफ र एन्टिबायोटिक किनेर खाने गर्दछौं ।
फोक्सो रोगबाट बच्न कस्तो सावधानी अपनाउनु पर्छ ?
फोक्सोमा लाग्ने रोगबाट बच्न धुवाँ र धुलोबाट बच्नु पर्छ । घरबाहिर निस्किँदा माक्सको प्रयोग गर्नु पर्छ । त्योबाहेक शरीरमा कुनै पनि रोग छ भने नियमित समयमा नै चिकित्सककहाँ जाँच गराउनु पर्छ । मृगौला, मुटुको समस्या, बाथ रोग वा शरीरको जुनसुकै भागको समस्याले पनि फोक्सोलाई असर गर्ने भएकोले अन्य रोगहरुको उपचार पहिला गर्नु पर्छ । कहिलेकाहीँ रोगको लक्षण सामान्य हुन्छ । तर, रोग ठूलो हुन सक्छ । खोकी लागिरहने भएमा समयमा नै जाँच गरी त्यसको कारण पत्ता लगाई उपचार गर्नु पर्छ ।
फोक्सोको क्यान्सर के कारणले हुन्छ ?
फोक्सोमा क्यान्सर हुने कारण अनुसन्धानले पनि पत्ता लगाइसकेको छैन । अनुसन्धानअनुसार अहिलेसम्म क्यान्सर हुने कारण धुमपान र प्रदूषण नै प्रमुख कारण हो । तर, पनि कतिपय चुरोट नखाने मानिसहरुलाई पनि फोक्सोको क्यान्सर भएको पाइन्छ ।
फोक्सोको क्यान्सरको उपचार सम्भव छ ?
फोक्सोको क्यान्सरको उपचार हुन्छ । फोक्सोको क्यान्सरको उपचार महँगो हुन्छ । पहिलो वा दोस्रो चरणमा नै क्यान्सर पत्ता लागेमा उपचार हुन सक्छ । चौथो चरण पुगेपछि शरीरको विभिन्न भागमा क्यान्सर फैलिएपछि भने उपचार गर्न मुस्किल नै हुन्छ । टार्गेटिभ थेरापी एकदमै महँगो हुन्छ । यसले मानिसको आयु ८÷१० वर्ष लम्ब्याउने काम गर्छ । खोकी लाग्दा क्यान्सर पनि भएको हुन सक्छ । कुनै पनि रोगको लक्षण देखिना साथ चिकित्सकहाँ गएर जाँच गराउनु पर्छ ।
आईएलडी कस्तो रोग हो ?
आईएलडी फोक्सोमा हुने जटिल रोग हो । यो रोग मानिसलाई कमै लाग्ने र निको हुँदैन । फोक्सोको तल्लो भागमा बिस्तारै दाग बस्न सुरु हुने र फोक्सो कडा हुँदै जान्छ । तलबाट बिस्तारै माथितिर फोक्सोमा दाग बस्दै र कडा हुदै जान्छ । यो रोगको कुनै लक्षण थाहा हँुदैन । अचानक बिरामीलाई श्वास फेर्न गाह्रो भई अस्पताल आएर विभिन्न जाँच र सिटी स्क्यान गर्दामात्र आईएलडी रोग लागेको पत्ता लाग्छ । धेरै वर्षदेखि बिरामीहरु खोक्ने, स्याँस्याँ भइरहेको हुन्छ । मानिसहरु सामान्य अवस्था हो भनेर समयमा अस्पताल नजाँदा फोक्सोमा दाग बसिसकेको हुन्छ । आईएलडी रोग लाग्ने कुनै कारण पत्ता लागेको छैन । उद्योगहरुबाट निस्केका धुवाँ, धुलोमा काम गर्ने वा उद्योगहरु वरपर बसोबास गर्ने मानिसलाई ती धुवाँ, धुलोले फोक्सोमा दाग बस्छ । धेरै किसिमका बाथ रोगहरुको असरले पनि फोक्सोमा दाग बस्छ । फोक्सोमा दाग बस्ने र ढुंगाजस्तो कडा फोक्सो हुनु नै आइएलडी रोग हो ।
आइएल डीको उपचार कसरी गर्न सकिन्छ ?
आइएलडीको उपचार एकदम जटिल छ । बिरामीको अवस्था हेरेर यसको उपचार गरिन्छ । बिरामीलाई कुन रोगको कारणले कति असर गरेको छ । अनुसन्धानले पत्ता लगाउन सकेको छैन । बाथ रोगको कारणले गर्दा आईएलडी भएको छ भने बाथ रोगको उपचार पहिला गर्छौं । फोक्सोमा दाग बस्न नदिने औषधी चलाउछौं । औषधीले रोगको गतिलाई ढिलो बनाउँछ । फोक्सोमा दाग बस्न दिँदैन । फोक्सोमा बढी दाग बसेको छ भने बिरामीलाई अक्सिजनको कमी हुन्छ । फोक्सोमा कति प्रतिशत दाग बसेको छ त्यति नै अक्सिजनको आवश्यकता पर्छ । रगतमा ९० भन्दा कम अक्सिजन भएमा बिरामीले अक्सिजन लगाउनु पर्छ । फोक्सोले अक्सिजनलाई भित्रसम्म पु¥याउने र कार्बनडाइ अक्साइडलाई बाहिर फ्याँक्ने काम गर्छ । रोगको तीव्र फैलिने गतिलाई औषधी सेवनले कम गर्छ । बिरामीलाई बाँचुञ्जेल अक्सिजन दिइरहनु पर्छ । अक्सिजन लगाएन भने बिरामीलाई पल्मोनरी हाइपोटेन्सन हुन्छ । मुटुको दायाँतिरको भाग सुन्निदै जाने, खुट्टाहरू सुन्निदै जाने, कलेजो बिग्रिँदै जाने, पेटमा पानी जम्मा हुने समस्या हुन्छ । मुटुका अन्य रोगहरुबाट बच्न अक्सिजन लगाएर बस्नु पर्छ ।
स्वस्थ्य रहन कस्तो खानपिनमा जोड दिनु पर्छ ?
शरीर स्वस्थ्य राख्नको लागि स्वस्थ्य खाना खानु पर्छ । सबैभन्दा बढी हरियो सागसब्जी र फलफूल खानु पर्छ । खानाभन्दा पनि महत्वपूर्ण कुरा कसरत हो । जिम गर्नु, कसरत गर्नु, खेल खेल्नु र दौडिनु सबै नै व्यायम हो । गाउँघरमा बस्ने मानिसहरुको आर्थिक अवस्था राम्रो हुँदैन । उनीहरु सामान्य खानामा सीमित हुन्छन् । तर, नियमित कडा मेहनत गर्ने हुनाले कुनै पनि रोग तुरुन्त लाग्न सक्दैन ।
बिमाले फोक्सोसम्बन्धी उपचारलाई समेटेको छ ?
नेपाल सरकारको बिमा कार्यक्रम लागू गरिएको छ । फोक्सोको बिरामीहरुलाई सरकारले एक लाख दिन्छ । फोक्सोमा जटिल निमोनिया भएकोे बिरामी छ भने भ्यान्टिलेटरमा राखेर उपचार गर्नु पर्छ । फोक्सोको जटिल रोगहरुको डाइलोसिस गर्नु पर्छ । पेटको इन्डोस्कोपी भएजस्तै फोक्सोको इन्डोस्कोपी हुन्छ । फोक्सोको इन्डोस्कोपीलाई बोङ्कोस्कोपी भनिन्छ । यसको जाँचबाट फोक्सोको क्यान्सर, दागहरु, मासु पलाएको छ भने पनि मासु निकालिन्छ । फोक्सो बिरामीहरुको लक्षण देखिँदैन । फोक्सोभित्रको समस्या भएमा खोक्दा रगत आउन सक्छ । बिरामीको तौल घट्दै जाने, स्याँस्याँ हुँदै जाने र कमजोरी हुने हुन्छ । समाजमा मानिसहरु स्वास्थ्यप्रति कम सचेत छन् । पहिला डाक्टर नहुँदा औषधी किनेर खानु पर्ने बाध्यता थियो । आयुर्वेद तथा धामीझाक्रीकहाँ जाने चलन थियो । अहिले देशमा हरेक रोगसम्बन्धी डाक्टरहरु उपलब्ध छन् । तर, पनि सामान्य बिरामी हुदाँ पनि जान चाहँदैनन् । घरमा बस्ने र नजिकको औषधी पसलमा गएर औषधी किनेर खाने चलन छ । रोगले सिकिस्त भएपछि मात्र डाक्टरकहाँ जाने चलन छ । आफ्नो आर्थिक अवस्था कमजोर छ भने नेपाल सरकारको बिमाको सुविधा पनि छ । सरकारी अस्पतालमा गएर नै समयमा उपचार गरौं । जटिल रोग लाग्नबाट बचौं ।