नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताएका छन् ।
वीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको बुधबार उद्घाटन गर्दै आईजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा दिन यस्ता सेवा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालयअन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी) मार्फत निर्माण गरिएको उक्त भवनको उद्घाटन आईजीपी कार्कीले गरेका हुन् ।
उनले सेवा केन्द्रमार्फत पीडितलाई न्यायमा पहुँच सहज हुने विश्वास व्यक्त गर्दै प्रहरी सेवा थप जनमुखी र विश्वासयोग्य बनाउन यस्ता पूर्वाधार सहयोगी हुने धारणा राखे ।
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला, पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठक लगायत विभिन्न सुरक्षा निकायका उच्च अधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।