प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संघीय संसद्मा भएको छलफलको समय पर्याप्त नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
मुलुकको आगामी एक वर्षको मार्गचित्र तय गर्ने महत्वपूर्ण दस्तावेजमाथि गहिरो छलफल हुनुपर्नेमा सरकारले बहसलाई सीमित समयमै टुंग्याएको उनको भनाइ छ।
नेता आङदेम्बेले विगतमा कम्तीमा तीन दिनसम्म चल्ने यस्तो छलफल यसपटक करिब ६ घण्टामा मात्र सीमित हुनु दुःखद भएको बताए। उनका अनुसार नीति तथा कार्यक्रम कुनै औपचारिकता मात्र नभई देशको भविष्यसँग प्रत्यक्ष जोडिएको विषय हो, जसमा सांसदहरूले विस्तृत रूपमा धारणा राख्न पाउनुपर्ने हुन्छ।
उनले सरकारको नीति तथा कार्यक्रममा ‘डिजिटलाइजेसन’ र प्रविधिको विषयलाई जोड दिइए पनि गाउँका गरिब किसान र मजदुरसम्म प्रविधिको पहुँच पुर्याउने स्पष्ट योजना नदेखिएको आरोप लगाए।
आङदेम्बेले ‘नागरिक एप’ को प्रभावकारिताका लागि पनि सर्वसाधारणसँग गुणस्तरीय मोबाइल र आवश्यक प्रविधिको उपलब्धता अनिवार्य हुने उल्लेख गरे। मोबाइलजस्ता आधारभूत प्रविधिको पहुँचबारे स्पष्ट खाका नहुनुले सरकारको नीति भुईँतहसम्म पुग्न नसकेको उनको टिप्पणी थियो।
दुई तिहाइ बहुमतको सरकारले नीति तथा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकेको भन्दै उनले आगामी बजेटमार्फत देखिएका कमजोरी सच्याउन सरकारलाई आग्रह गरे।
प्रतिपक्षको भूमिकाबारे स्पष्ट पार्दै उनले नेपाली कांग्रेस विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको बताए। राज्यको नियतमाथि शंका नभए पनि कार्यशैली र प्राथमिकतामा सुधार आवश्यक रहेको उनको भनाइ छ।