राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । नतिजा प्रकाशनअघि नै बोर्डले परीक्षार्थीहरूले सहज रूपमा आफ्नो नतिजा हेर्न सक्ने आधिकारिक माध्यमहरूको सूची सार्वजनिक गरेको हो ।
यस वर्ष नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस (SMS), आईभीआर (IVR) सेवा र विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
परीक्षार्थीहरूले नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस, यूएसएसडी वा आईभीआर सेवा प्रयोग गरेर नतिजा प्राप्त गर्न सक्नेछन् । त्यस्तै जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१०६९ नम्बरमा एसएमएस पठाएर पनि नतिजा हेर्न सकिनेछ ।
नतिजा इन्टरनेटबाट हेर्न चाहनेहरूका लागि बोर्डले सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिएको छ । आधिकारिक सरकारी वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट विस्तृत नतिजा तथा मार्कसिट हेर्न सकिनेछ ।
यसका साथै नेपाल टेलिकमको www.see.ntc.net.np, कान्तिपुर पब्लिकेसन्सको www.ekantipur.com, इडियु सञ्जालको www.see.edusanjal.com तथा खल्ती एपमार्फत पनि नतिजा हेर्न सकिने व्यवस्था मिलाइएको छ । निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी र इन्द्रेणी टाइम्सलगायतका प्लेटफर्मबाट समेत नतिजा उपलब्ध हुने बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक भएपछि केवल आधिकारिक माध्यमबाट मात्र आफ्नो नतिजा रुजु गर्न परीक्षार्थी र अभिभावकलाई आग्रह गरेको छ ।