नेपाली सेनामा भर्ना हुने उम्मेदवारका लागि दरखास्त दिने समय घटाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सैनिक सेवा नियमावली संशोधन गर्दै दरखास्त दिन दिइने ३० दिनको अवधि घटाएर २१ दिन कायम गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् ले परिवर्तित सूचना प्रवाहको अवस्था र माध्यम परिवर्तनलाई आधार मानेर समय सीमा घटाइएको जनाएको छ । संशोधित नियमावलीमा ‘सैनिक सेवा नियमावली (छैटौँ संशोधन) २०८३’ स्वीकृत गरिएको छ ।
सरकारले अब सैनिक भर्ना छनोट प्रक्रियामा वैकल्पिक उम्मेदवारहरूको सूची पनि विस्तार गर्ने व्यवस्था गरेको छ । साथै देशभरका विभिन्न युनिटमा भर्ना हुने सैनिकहरूको योग्यताक्रम एकीकृत प्रणालीमार्फत निर्धारण गरिने भएको छ, जसअनुसार सबै प्रदेशमा समान मापदण्ड लागू हुनेछ ।
नेपाली सेना अन्तर्गत जोखिमपूर्ण स्थानमा कार्यरत सैनिकलाई ‘जोखिम भत्ता’ दिने व्यवस्था पनि नियमावलीमा थप गरिएको छ । स्वास्थ्य प्रयोगशाला, रेडियो विकिरणयुक्त क्षेत्र, शान्ति सेना, विपद् उद्धार, राष्ट्रिय निकुञ्ज, ल्याब र बारुदखाना जस्ता स्थानमा कार्यरत सैनिकहरूले अब अतिरिक्त सुविधा पाउनेछन् ।
रक्षा मन्त्रालय का प्रवक्ता (सहसचिव) मनोज कुमार आचार्य का अनुसार कर्तव्य पालनाका क्रममा घाइते वा अङ्गभङ्ग भएका सैनिकलाई थप सुविधा दिने र कर्तव्यकै क्रममा ज्यान गुमाउने सैनिकका परिवारलाई मरणोपरान्त सुविधा प्रदान गर्ने प्रावधानसमेत समावेश गरिएको छ ।
त्यस्तै अध्ययन बिदा तथा तालिममा विदेश जाने सैनिकले सेवा फर्किएर पुनः काम गर्ने प्रतिबद्धता जनाउन ‘कबुलियत’ गर्नुपर्ने व्यवस्था गरिएको छ । विदेश अध्ययनपछि सेवा नफर्कने समस्या बढेपछि यस्तो प्रावधान राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रिपरिषद्ले सैनिक बढुवा समितिको संरचनामा पनि परिवर्तन गरेको छ । प्रमुख सेनानीदेखि सहायकरथी तहसम्मको बढुवा सिफारिस गर्दा नीति तथा योजना विभागका प्रमुख अध्यक्ष रहने र सैनिक सचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।