क्रिस्टियानो रोनाल्डोले विश्वकपको नकआउट चरणमा पहिलो पटक गोल गर्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गरेपछि गोन्सालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा निर्णायक हेडर प्रहार गर्दै पोर्चुगललाई क्रोएसियामाथि २–१ को रोमाञ्चक जित दिलाएका छन्। यस जितसँगै पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
खेल अतिरिक्त समयतर्फ धकेलिने संकेत देखिइरहेका बेला राफाएल लिआओको उत्कृष्ट क्रसमाथि रामोसले दुई डिफेन्डरलाई उछिन्दै गरेको हेड गोलमा परिणत भयो। त्यसपछि थपिएको समयमा जोस्को ग्भार्डिओलले बराबरी गोल गरे पनि भिडियो सहायक रेफ्री (भीआर) को समीक्षापछि इगोर मातानोभिचको हल्का स्पर्शपछि बल अफसाइडमा रहेका मारियो पासालिचसम्म पुगेको पुष्टि भएकाले गोल अमान्य ठहरियो।
पहिलो हाफमा पोर्चुगलले खेल नियन्त्रणमा राखे पनि दोस्रो हाफको सुरुआत क्रोएसियाले बलियो बनायो। ५३औँ मिनेटमा रुबेन डियासले बल पूर्ण रूपमा क्लियर गर्न नसक्दा इभान पेरिसिचले शक्तिशाली प्रहार गर्दै क्रोएसियालाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि वैकल्पिक खेलाडी इगोर मातानोभिचले दोस्रो गोल गरे पनि निकोला भ्लासिच अफसाइडमा रहेकाले त्यो गोलले पनि मान्यता पाएन।
खेल थप रोमाञ्चक बन्दै जाँदा राफाएल लिआओको घुमाउरो प्रहार क्रसबारमा लाग्यो भने रोनाल्डोको आकर्षक फिनिस पनि अफसाइडका कारण रद्द भयो। ६८औँ मिनेटमा भने पोर्चुगलले पेनाल्टीको अवसर पायो। कर्नरका क्रममा रेनाटो भिएगामाथि भएको फाउललाई भीआरले पुष्टि गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले सहज गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
यो गोलसँगै रोनाल्डोले विश्वकपको नकआउट चरणमा पहिलो गोल गर्ने उपलब्धि हासिल गरे भने राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या १४६ पुर्याए।
बराबरीपछि क्रोएसियाले लगातार दबाब सिर्जना गर्यो। मातेओ कोभाचिचका दुई उत्कृष्ट प्रहारलाई गोलकिपर डियोगो कोस्टाले बचाए भने इगोर मातानोभिच एक्लै गोलकिपरसामु पुगे पनि सफल हुन सकेनन्। पेटार सुचिचले गरेको अर्को गोल पनि अफसाइडका कारण अमान्य भयो।
विश्वकपको नकआउट चरणमा सुरुवाती रोजाइमा उत्रिने सबैभन्दा बढी उमेरका खेलाडी बनेका ४१ वर्षीय रोनाल्डोलाई ८१औँ मिनेटमा मैदानबाट बाहिर निकाल्दा उनी असन्तुष्ट देखिएका थिए। तर खेल सकिएपछि रामोसको विजयी गोलसँगै उनी टोलीका खेलाडीसँग उत्साहपूर्वक जित मनाउँदै देखिए।
अब पोर्चुगलले अन्तिम १६ मा जुलाई ६ मा अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा युरोपियन च्याम्पियन स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
मोड्रिचको सम्भावित अन्तिम विश्वकप
प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक मानिएको यस खेलसँगै ४० वर्षीय लुका मोड्रिचको विश्वकप यात्रा सम्भावित रूपमा समाप्त भएको छ। उमेरलाई चुनौती दिँदै उत्कृष्ट मिडफिल्ड प्रदर्शन गरेका उनले टोलीलाई जित दिलाउन भने सकेनन्।
पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले गरेको रणनीतिक परिवर्तन निर्णायक सावित भयो। सुरुआतमा पोर्चुगलको आक्रमण अत्यधिक रूपमा रोनाल्डोमा निर्भर देखिए पनि रामोस मैदान प्रवेश गरेपछि टोलीको आक्रमण थप सन्तुलित र प्रभावकारी बन्यो।
खेलपछि पोर्चुगलका खेलाडीहरूले भावुक रूपमा जित मनाए। पूर्व पोर्चुगिज फरवार्ड डियोगो जोटाको निधन भएको एक वर्ष पूरा हुन लागेका बेला रोनाल्डोले आफ्ना दिवंगत पूर्वसहकर्मीको जर्सी लगाएर आँसुसहित समर्थकहरूलाई अभिवादन गरेका थिए।