प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय कुनै पनि राजनीतिक दलविरुद्ध लक्षित नभई मुलुकको प्रणाली जोगाउने प्रयास भएको बताएका छन्।
विद्यार्थी संगठन तथा कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णयको विरोध भइरहेका बेला प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत् उक्त कदमलाई संस्थागत सुधारतर्फको पहलका रूपमा व्याख्या गरेका हुन्।
‘यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो,’ उनले लेखेका छन्, ‘देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने तथा शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने प्रयास हो।’
प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले कमजोर बनाएको उल्लेख गर्दै पत्रकार, राजनीतिकर्मी, अभियन्ता, व्यवसायी तथा आम नागरिकको साथ र सहयोग अपेक्षा गरेको बताएका छन्।
‘तपाईंहरूकै चाहनाअनुसार अध्यादेशमार्फत् यी विकृतिहरू हटाएका छौं । हामीलाई सबैको साथ र विश्वासको आवश्यकता छ,’ उनले भनेका छन्, ‘परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी जनचाहनाअनुसार काम गर्न सरकारमा आएका हौं ।’
सरकारको उक्त निर्णयले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता सुदृढ बनाउने प्रधानमन्त्री शाहको दाबी छ। ‘यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ,’ उनले भनेका छन्, ‘अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुनुपर्छ।’