सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएको आइतबार ११ दिन पूरा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गुरुङले ९ वैशाखमा प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएका थिए।
सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रममा सेयर लगत लुकाएको तथा विवादास्पद व्यापारीसँग सम्बन्धित कम्पनीमा सेयर रहेको विषय बाहिरिएपछि गुरुङ विवादमा तानिएका थिए। विशेषगरी व्यवसायी दीपक भट्टको कम्पनीमा उनको सेयर देखिए पनि उनले सम्पत्ति विवरणमा उल्लेख नगरेको विषयले विवाद चुलिएको थियो।
विवादपछि गुरुङले निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राजीनामा दिएका थिए। राजीनामा दिँदै उनले सामाजिक सञ्जालमार्फत ‘पदभन्दा ठूलो नैतिकता’ र ‘जनविश्वासभन्दा ठूलो शक्ति केही नहुने’ उल्लेख गर्दै आफूविरुद्धको विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताएका थिए।
तर, राजीनामा दिएको यति समय बितिसक्दा पनि उनीमाथिको छानबिन प्रक्रिया भने अघि बढेको छैन। यसैबीच १६ वैशाखमा रास्वपा सभापति रवि लामिछानेले छानबिन चाँडै सुरु हुने बताएका थिए। उनले छानबिनको स्वरूपबारे समेत छिट्टै जानकारी गराउने बताएका थिए।
उता, गुरुङले राजीनामा दिएपछि हालसम्म नयाँ गृहमन्त्री नियुक्त गरिएको छैन। प्रधानमन्त्री बालेन शाहले गृह मन्त्रालय आफ्नो मातहतमै राखेका छन्। देशको शान्ति–सुरक्षा, अपराध अनुसन्धान, सूचना संकलन तथा आतंकवाद नियन्त्रण जस्ता संवेदनशील जिम्मेवारी बोकेको मन्त्रालय लामो समयसम्म मन्त्रीविहीन रहनु चर्चा र चासोको विषय बनेको छ।
यसबीच, गुरुङ पदबाट बाहिरिए पनि उनका स्वकीय सचिव जेम्स कार्की भने मन्त्रालयसम्बन्धी काममा सक्रिय देखिएका छन्। मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउने कार्यमा समेत उनी प्रत्यक्ष रूपमा संलग्न भएका थिए।
मन्त्रालय स्रोतका अनुसार हाल गृह मन्त्रालयका काम–कारबाही प्रधानमन्त्री शाहको निर्देशन र जेम्स कार्की लगायतको समन्वयमा अघि बढिरहेका छन्। करिब दुई साता बित्न लाग्दा पनि गृहमन्त्री नियुक्त नहुनु र गुरुङ निकट व्यक्तिहरूको सक्रियता कायम रहनुले उनी पुनः गृहमन्त्रीमा फर्किन सक्ने अड्कलबाजी समेत सुरु भएको छ।