धनप्रसाद बजगाई (सहायक प्रधानाध्यापक)
श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय, औराह, बाराभ्रष्टाचार अन्त्य हुनु पर्छ
देशमा सुशासन भएन, भ्रष्टाचार बढ्यो । देश विकास भएन भन्ने आरोप जनताले लगाएका थिए । यो सरकारलाई जनताले काम गर्ने पूर्ण बहुमत दिएको भएर देशमा अमन चयन र सुशासन होओस् । शिक्षा, स्वास्थ्यमा आमूल परिवर्तन आओस् । गरीबका छोराछोरीले आर्थिकको कारणले पढाई र स्वास्थ्यमा कहिले पनि रोकिनु नपरोस् । राज्य सञ्चालनको तहमा नयाँ पुस्ता पुगेका छन् । जुन उद्देश्यसहित जनताले दिएको छ, मतको सम्मान हुनु पर्छ । ५ वर्षमा केही मात्र परिवर्तन हुन्छ भन्ने अपेक्षा गरेकोे छु । जुन परिवर्तनले ५ वर्षमा नेपाली जनता सुखी हुन्छन् । समृद्ध नेपाल बन्छ भन्ने आशा गरेको छु । देश विकासको लागि सीपयुक्त शिक्षा चाहिन्छ । नेपालमा कलकारखाना उद्योगहरू व्यापक रुपमा सञ्चालन गरेर त्यसमा उत्पादन भएका वस्तुहरु बजारीकरण गर्न सकियो भने नेपालीहरूले रोजगारीका साथैसाथै स्वावलम्बी बन्न सक्छन् । सबैभन्दा पहिला देशमा भ्रष्टाचार नै अन्त्य हुनु पर्छ । भ्रष्टचारले देशलाई पछाडि धकेलिरहेको छ ।
सीमा बस्नेत
सञ्चारकर्मी
भ्रष्टाचार न्यूनीकरण भए देशमा अवसर
देशमा शान्ति, सुरक्षा र काम गरी खाने बाटो सहज हुनु पर्छ । भ्रष्टाचार न्यूनीकरण भएमा देशमा अवसर नै अवसर हुन्छ । भ्रष्टाचार अन्त्य त पृथ्वी रहुन्जेल नहोला । तर, पनि भ्रष्टाचार न्यूनीकरण भएमा पनि देश साच्चै नै गौतम बुद्धको देशजस्तो हुन्छ । अबको सरकारबाट सबैको जस्तै मेरो पनि अपेक्षा छ ।
सम्झना गुरुङ
विश्वास जित्ने सरकार हुनु पर्छ
नेपालमा बन्ने बहुमतको सरकारप्रति जनताको अपेक्षा केवल स्थायित्वमात्र होइन, परिणाममुखी सुशासन, न्याय र समृद्धि हो । आजको सचेत नागरिकले भाषण होइन, व्यवहारमा परिवर्तन खोजिरहेको छ । शिक्षालाई व्यावहारिक, प्रविधिमैत्री र रोजगारमुखी बनाउँदै, सरकारी विद्यालयलाई बलियो र प्रतिस्पर्धी बनाउनु पर्छ । सरकारी अस्पतालहरूमा दक्ष डाक्टर, उपकरण र औषधिको व्यवस्था गर्दै, सुलभ वा निःशुल्क उपचार सुनिश्चित गर्नु पर्छ । युवालाई विदेशिन बाध्य बनाउने अवस्था अन्त्य गर्दै, स्वरोजगार, उद्योग र स्टार्टअपलाई प्राथमिकता दिनु पर्छ । गुणस्तरीय सडक, ऊर्जा, यातायात र डिजिटल संरचना निर्माणमा दीर्घकालीन योजना आवश्यक छ । नेपालीको आयस्रोतमा वृद्धि गर्न कृषि, उद्योग र उद्यमशीलता विस्तार गर्नुपर्छ । पारदर्शी नीति र सहज वातावरण बनाएर विदेशी लगानी भित्र्याउने र उद्योग सञ्चालन हुनु पर्छ ।
बलात्कारजस्तो जघन्य अपराधमा कडा कानूनी कारवाही कठोर सजाय र छिटो न्याय सुनिश्चित हुनु पर्छ । सरकार जवाफदेही, पारदर्शी र जनमुखी हुनु पर्छ । किसानलाई प्रविधि, मल, बीउ र बजारको सुनिश्चितता गर्दै आत्मनिर्भर कृषि विकास गर्नु पर्छ । सरकारी सेवा अनलाइन र छिटो बनाउँदै डिजिटल अर्थतन्त्र विस्तार गर्नुपर्छ । दिगो विकास, वन संरक्षण र जलवायु परिवर्तनको सामना गर्न प्रभावकारी नीति आवश्यक छ । हरेक नागरिकलाई समान अवसर र सम्मान सुनिश्चित गर्नु पर्छ । नेपालको पर्यटन क्षेत्र देशको आर्थिक मेरुदण्ड हो । त्यसैले दिगो पर्यटन नीति, दुरुस्त सुरक्षा व्यवस्था, स्वच्छ वातावरण र पर्यटकमैत्री व्यवहार सुनिश्चित गर्नु पर्छ । पर्यटीय स्थलहरूको संरक्षण, प्रवद्र्धन र विश्वस्तरको सेवा विकास अपरिहार्य छ । अबको बहुमतको सरकार केवल शासन गर्ने होइन, न्याय दिने, अवसर सिर्जना गर्ने र विश्वास जित्ने सरकार हुनु पर्छ ।
सञ्जय जोशी (अध्यक्ष)
रोटरी क्लब अफ वीरगञ्ज मेट्रो पोलिस
कृषिमा क्रान्ति ल्याउनु पर्छ
अब बन्ने सरकारले देश निर्माण र समृद्धको लागि गर्नुपर्ने कामहरू धेरै छन् । जनताले दिएको जनमत नै देश निर्माण र विकासको आधार भएको छ । देशमा भएका बेतिथि र भ्रष्टाचारलाई निर्मूल पार्नु पहिलो कर्तव्य हो । देशमा रोजगारको अवस्था छैन । राम्रो शिक्षा हासिल गर्न युवाहरू विदेश पलायन भएका छन् । भ्रष्टाचारले गर्दा भएका उद्योग कारखानाहरू बन्द भएका छन् । निजी उद्योगहरू पनि राम्रोसँग चल्न सकेका छैनन् । शिक्षाको राम्रो व्यवस्था हुनु पर्छ । विपन्न वर्गका छोराछोरीहरुले पनि शिक्षा प्राप्त गर्ने अवसर पाउनु पर्छ । बन्द भएका उद्योग कलकारखाना सञ्चालन गरी बेरोजगार युवालाई देशमा नै रोजगारी दिनु पर्छ । किसानले कृषि उपज गर्न समयमा उन्नत जातको बीउ, मल, सिँचाईं पाउन सकेको छैन । महँगोमा उत्पादन गरेको बाली कम मूल्यमा बिक्री गर्नु पर्छ । कृषिमा क्रान्ति ल्याउनु पर्छ । देशमा रोजगार सृजना गरी जनतालाई आयआर्जन गर्ने वातावरणको सृजना गर्नु पर्छ ।
रिचा सोम (स्थानीय)
वीरगञ्ज मनपा–८, गहवा
स्वदेशमा काम गर्ने वातावरण चाहिन्छ
अबको बहुमतको सरकारले देशमा भइरहेको भ्रष्टाचार र बेथितिको अन्त्य गर्नु पर्छ । शिक्षाको क्षेत्रमा विद्यार्थीले राम्रो प्रतिशत आउँदा पनि भर्ना हुन पाएका हँुदैनन् । सरकारी निकायमा जनताको कामहरु छिटो र छरितो तरिकाले गराउने वातावरण सृजना गनु पर्छ । सरकारी अस्पतालहरूमा जनताले सहज किसिमले उपचार गर्न वातावरण सृजना गराउनु पर्छ । समयसमयमा हत्या, बलत्कारका घटनाहरु घट्ने गरेका छन् । दोषीलाई सजाय दिनु पर्छ । अगामी दिनमा यस्ता घटनाहरू घटाउने आट गर्न नसकून् । युवाहरु रोजगारको लागि विदेशिएका छन् । देशमा कुनै रोजगारको अवसर छैन । युवाहरूलाई देशमा नै बसेर काम गर्ने वातावरण सिर्जना होओस् । देशमा सुरक्षित भएर बस्न र बाँच्ने अवस्थाको बनोस् ।