यही फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावमा पर्सा क्षेत्र नं. २ मा उम्मेदवार बनेका मनोज चौधरी चुनावको २ दिनअघि बमसहित प्रहरीको नियन्त्रणमा परे । उनी प्रहरी हिरासतमै रहेका बेला चुनाव भयो, मतदान गर्न पनि पाएनन् । ९१३ मत पाएर पराजित भए ।
निर्वाचनको मौन अवधिमा कार्यकर्ता भेट गर्न हिँडेको भनिएका चौधरी प्रहरी हिरासतमा पुगेको यतिका दिन बितिसक्दा उनको दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रियासमेत सार्वजनिक गरेको छैन । पार्टी केन्द्रीय सदस्यसमेत रहेका चौधरी चुनावी प्रतिस्पर्धामा रहेकै बेला भएको यो घटनाबारे पार्टीको औपचारिक धारणा नआउनुलाई अर्थपूर्ण मानिएको छ ।
जिल्लास्थित केन्द्रीय नेताहरुले चौधरीलाई षड्यन्त्रपूर्ण तरिकाले फसाइएको दाबी गरे पनि अहिलेसम्म औपचारिक प्रतिक्रिया नआउनुलाई नै षड्यन्त्रको रुपमा विश्लेषण गर्न थालिएको छ ।
प्रहरीले फागुन १९ गते राति पर्सागढी नगरपालिकाको बढनिहारमा क्षेत्रमा नियमति चेकजाँचको क्रममा चौधरी सवार बा १० च १२५० नम्बरको गाडीमा होक्सी बम फेला परेपछि ४ जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक सुदीप पाठकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका थिए ।
प्रहरीका अनुसार चौधरीमाथि निर्वाचन ऐन २०७३ र विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीले पर्सा जिल्ला अदालतबाट दोस्रो पटक ३ दिनसहित अहिलेसम्म १० दिन म्याद पाएको छ । पछिल्लो पटक थपिएको अनुसन्धानको म्याद बिहीबार सकिन्छ ।
नेकपाबाट उम्मेदवार बनेका व्यक्ति प्रहरी हिरासतमा रहेकोबारे के धारणा छ भनेर मध्य नेपालले सोध्दा नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरीले आफ्नो पार्टीका उम्मेदवारलाई राजनीतिक रुपमा षड्यन्त्र गरी फसाइएको दाबी गरेका छन् । मनोज चौधरी पक्राउबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन गरिहरहदा नागेन्द्र चौधरीसहित रामचन्द्र साह, बालगोपाल थापा, विपीन यादव, वीरेन्द्र यादव, किशोरी कुशवाह र वृजलाल पासवानलगायतका केन्द्रीय नेता प्रहरी कार्यालय परिसरमै थिए ।
तर, आफ्नो दलका उम्मेदवार पक्राउबारे जिल्लादेखि केन्द्रीय नेतृत्वबाट अहिलेसम्म औपचारिक धारणा आएको छैन । मौन अवधिमा उम्मेदवार पक्राउ परेको र लगत्तै होली र चुनावी बिदा परेकाले औपचारिक प्रतिक्रिया आउन नसकेको केन्द्रीय सदस्य नागेन्द्र चौधरीले बताएका छन् । ‘पर्व र चुनावी बिदा भयो । हाम्रो उम्मेदवारलाई राजनीतिक षड्यन्त्रमा फसाइयो । यसको निष्पक्ष छानबिन हुनु पर्दछ । यसमा अब कसरी अगाडि बढ्ने भन्नेबारेमा गृहकार्यमै छौं,’ उनले भने ।