आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस, विश्वभरि अनेक कार्यक्रम गरी मनाइँदैछ । पछिल्लो समय नेतृत्वमा महिलाको सार्थक सहभागिता र समावेशिताको एजेण्डाले प्राथमिकता पाए पनि व्यावहारिक रूपमा अझै चुनौती कायम रहेको महिला अगुवाहरूले बताएका छन् । उनीहरूले समान अधिकार, अवसर र निर्णायक तहमा महिलाको अर्थपूर्ण सहभागिता निश्चित गर्न राज्य, समाज र परिवारको सोच परिवर्तन आवश्यक रहेको बताए ।
ठाकुरराम बहुमुखी क्याम्पसकी उपप्राध्यापक उमा मिश्रले परिवारभित्रैबाट छोरीलाई कमजोर ठान्ने सोच परिवर्तन हुनुपर्ने बताइन् । उनका अनुसार छोरामा खर्च गर्दा अपसोच नगर्ने, तर छोरीमा खर्च गर्दा हिच्किचाउने प्रवृत्ति अझै समाजमा विद्यमान छ । जसले महिलाको अवसर सीमित बनाएको छ ।
शिक्षा क्षेत्रमै कार्यरत पल्लवी हरलल्काले अधिकार र समानताको कुरा गरिहरहँदा आर्थिक रूपमा कमजोर परिवारका किशोरीहरूले महिनावारीका आवश्यक सामग्री किन्नसमेत समस्या भोग्नुपर्ने अवस्था रहेको बताइन् । राज्यले विद्यालयस्तरमा दिएको सीमित सहयोगले मात्रै समस्या समाधान नहुने उनको भनाइ छ ।
ज्ञानदा बोर्डिङ स्कूल वीरगञ्जकी सहप्राध्यापक जागृति मिश्र आत्मविश्वासले पुरुषवादी सोच परिवर्तन गर्न सकिने बताउँछिन् । नेतृत्वमा अझै पुरुषलाई बढी प्राथमिकता दिने प्रवृत्ति समाजमा विद्यमान रहेको उनको अनुभव छ ।
विगतमा छोरीहरूलाई आफ्नै विवाहको निर्णयमा समेत सहभागी हुन नदिने अवस्था रहेको स्मरण गर्दै वुमेन स्किल एण्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष चञ्चला दास भन्छिन्, ‘अहिले समाजमा केही परिवर्तन आएको छ । तर, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व अझै पर्याप्त छैन ।’ कम उमेरमा हुने विवाह र परिवारभित्रको असमान व्यवहारले पनि महिलाको विकासमा अवरोध पु¥याउने भनाइ महिला अगुवाहरूको छ । समानताको कुरा गर्दा समाज नै बाधक बन्ने अवस्था अझै रहेको उनीहरूले बताए ।
ब्लु हेभन नेपाल बाराकी प्रोजेक्ट कोर्डिनेटर पूर्णिमा श्रेष्ठले लैंगिक पहिचान परिवर्तनपछि पनि विभेदको अनुभव अन्त्य नभएको गुनासो गरिन् । ‘जीवनमा दुःख र संघर्ष निरन्तर रहने भए पनि आत्मविश्वासले अघि बढ्नु पर्दछ,’ उनले भनिन् ।
राधेकृष्ण मेहेन्दी ट्रेनिङ सेन्टरकी सञ्चालक श्वेता गुप्ता महिला व्यवसायीसँगै आदर्श आमा र सामाजिक नेतृत्वकर्ताको भूमिकामा महिला अघि बढ्नुपर्ने धारणा राख्छिन् । उनका अनुसार सामाजिक रूपान्तरणका लागि महिलाले नेतृत्व लिनै पर्छ । समाजको सोच परिवर्तन गर्न महिलाहरू स्वयं सक्रिय हुनुपर्ने उनले बताइन् । ‘मानिसमा सकारात्मक परिवर्तन ल्याउनु नै सबैभन्दा ठूलो खुशी हो । महिलाले त्यसका लागि धेरै संघर्ष गर्नुपरे पनि नेतृत्व असम्भव नभएको उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटीकी उपसभापति मधु राणा भन्छिन्, ‘मानव सेवामा महिलाको भूमिका महत्वपूर्ण छ । रक्तदानजस्तो मानवीय सेवामा पनि प्रारम्भिक समयमै महिलाले सक्रियता देखाएका थिए । रगत पुरुष वा महिलाको भनेर छुट्याइँदैन भने अधिकार र समानता पनि बराबर हुनुपर्छ ।’ निर्णायक तहमा अझै पुरुषको वर्चश्व रहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन मधेश प्रदेशकी ओमकुमारी शर्माले बताइन् । ‘धेरै ठाउँमा महिलाहरू केवल उपस्थितिका लागि मात्रै राखिने प्रवृत्ति छ । यो प्रवृत्ति परिवर्तन हुनु पर्दछ । महिलाको नेतृत्वलाई समाजले अझै पूर्ण रूपमा स्वीकार गर्न नसकेको अवस्था छ । धैर्य र आत्मविश्वासले मात्र सफलता सम्भव हुन्छ,’ उनको भनाइ छ ।
वीरगञ्जको सिद्धार्थ इन्टरनेश्नल कलेजकी निर्देशक डा. सुष्मा तिवारीले महिलाले घर, परिवार र पेशागत जिम्मेवारी एकैसाथ सम्हाल्नुपर्ने अवस्था रहेको बताइन् । ‘मधेश प्रदेशमा गरिबी, अशिक्षा र अवसरको अभावका कारण महिलाले अझै धेरै समस्या भोग्नु परेको छ,’ उनको भनाइ छ ।
महिला नेतृ रमितामाया गुप्ताले महिलालाई पुरुषमा निर्भर रहने प्रवृत्ति त्यागेर नेतृत्वका लागि अभियान चलाउनुपर्ने बताइन् । महिलालाई जागरूक बनाउँदै नेतृत्वमा स्थापित गराउनु समयको माग भएको उनको दाबी छ ।
महिला नेतृ रम्भा मिश्रले संविधानमा ३३ प्रतिशत महिला आरक्षण भए पनि व्यवहारमा पूर्ण रूपमा लागू नभएको बताइन् । उनका अनुसार महिलालाई राजनीति गर्न परिवारबाटै पर्याप्त समर्थन नपाउने अवस्था छ । महिला सञ्जाल बाराकी अध्यक्ष बबिता जयसवाल महिलाको आत्मनिर्भरता बढाउन स्थानीय सरकारले स्वरोजगार र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँछिन् ।
सरकारी कार्यालयको नेतृत्व पुरुषले नै गर्नुपर्छ भन्ने सोच अझै समाजमा विद्यमान रहेको उद्योग विभाग मधेश प्रदेशकी निमित्त महानिर्देशक रिमा साहको दाबी छ । ‘आरक्षण लागू भएपछि मधेशी महिलाको सहभागिता खुल्ला प्रतिस्पर्धामै पनि उल्लेखनीय रूपमा बढेको छ । अनुशासन, दृढ इच्छाशक्ति र निरन्तर प्रयासले महिलालाई सफलता दिलाउन सक्छ,’ उनको भनाइ छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले परिवारको साथ र सकारात्मक वातावरण भए महिलाले सहज रूपमा नेतृत्व सम्हाल्न सक्ने बताइन् । उनी लगातार दोस्रो कार्यकालका लागि सो पालिकाको उपाध्यक्षको भूमिकामा छिन् । बहुदरमाई नगरपालिकाकी उपमेयर सुश्मा कुशवाहा भने सक्षम महिला नेतृत्वलाई राजनीतिक प्रणाली र गठबन्धनले अवसरबाट वञ्चित गराउने अवस्था रहेको आरोप लगाउँछिन् । महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउनुपर्ने आवश्यकता उनले औंल्याइन् ।