भारत र श्रीलंकामा भएका ५४ रोमाञ्चक खेलपछि विश्व क्रिकेटको महाकुम्भ अब अन्तिम मोडमा पुगेको छ। उपाधिका लागि अब दुई टोली मात्र बाँकी छन्: भारत र न्युजिल्यान्ड। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा आइतबार राति सवा सात बजे हुने फाइनल खेलले टी–२० विश्वकपको नयाँ च्याम्पियनको फैसला गर्नेछ।
साविक विजेता भारत चौथो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ, जुन अहिलेसम्मकै धेरै हो। सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतीय टोलीसँग यसपटक इतिहास रच्ने अवसर पनि छ। अहिलेसम्म कुनै पनि आयोजक राष्ट्रले पुरुष टी–२० विश्वकप जित्न सकेको छैन भने कुनै पनि टोलीले लगातार दुई पटक उपाधि रक्षा गर्न सकेको छैन। भारतले फाइनल जितेमा यी दुवै कीर्तिमान तोड्दै तीन पटक ट्रफी उचाल्ने पहिलो टोली बन्नेछ।
यद्यपि भारतका लागि एउटा चुनौतीपूर्ण तथ्य पनि छ। टी–२० विश्वकपको इतिहासमा भारतले न्युजिल्यान्डलाई अहिलेसम्म हराउन सकेको छैन। यही खराब रेकर्ड तोड्दै उपाधि जित्ने लक्ष्यसहित भारत मैदानमा उत्रनेछ।
न्युजिल्यान्ड भने दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो। सन् २००० मा च्याम्पियन्स ट्रफी जितेपछि उनीहरू पहिलो पटक आईसीसी पुरुष ह्वाइट–बल क्रिकेटको ठूलो उपाधि जित्ने दाउमा छन्। सन् २०२४ मा न्युजिल्यान्डको महिला टोलीले टी–२० विश्वकप जितिसकेको छ। यदि मिचेल सान्टनरको कप्तानीमा रहेको पुरुष टोलीले पनि उपाधि जितेमा न्युजिल्यान्ड एकै पटक पुरुष र महिला दुवै टी–२० विश्वकपको च्याम्पियन बन्नेछ।
भारत सेमिफाइनल पार गरे पनि टोलीमा केही कमजोरीहरू देखिएका छन्। प्रारम्भिक ब्याटर अभिषेक शर्माको प्रदर्शन अपेक्षाअनुसार छैन भने स्पिनर वरुण चक्रवर्ती पछिल्ला खेलमा महँगा सावित भएका छन्। त्यसैले उनको स्थानमा कुलदीप यादव वा वासिङ्टन सुन्दरलाई खेलाउने विषयमा बहस भइरहेको छ। सञ्जु सामसन भने लयमा फर्किएका छन् र हार्दिक पाण्ड्याको बलिङले टोलीलाई थप मजबुत बनाएको छ।
न्युजिल्यान्ड भने कठिन मानिएको ‘ग्रुप अफ डेथ’ पार गर्दै फाइनलमा पुगेको हो। सेमिफाइनलमा दक्षिण अफ्रिकाजस्तो बलियो टोलीलाई हराएपछि उनीहरूको मनोबल उच्च छ। पछिल्ला केही वर्षमा भारतमै टेस्ट र एकदिवसीय शृङ्खला जितेको अनुभवले पनि टोलीलाई आत्मविश्वास दिएको छ। टिम सेफर्ट र फिन एलेनको ओपनिङ जोडी निकै आक्रामक देखिएको छ।
अहमदावादको पिचमा स्पिनरभन्दा तीव्र गतिका बलरहरू बढी सफल देखिएका छन्। त्यसैले भारतले मोहम्मद सिराजलाई टोलीमा समेट्न सक्ने सम्भावना छ भने न्युजिल्यान्डले पनि थप एक फास्ट बलर खेलाउन सक्छ।
यस मैदानमा राति हुने खेलहरूमा पहिले ब्याटिङ गर्ने टोली प्रायः सफल हुने गरेको तथ्यांक छ। यहाँको औसत पहिलो इनिङ्स स्कोर १९२ रन छ। भारतले यस प्रतियोगितामा आफ्ना सातमध्ये छ खेल पहिले ब्याटिङ गर्दा जितेको छ भने न्युजिल्यान्डले लक्ष्य पछ्याउँदा पाँचमध्ये चार खेल जितेको छ। यस्तो अवस्थामा टसले पनि फाइनलको नतिजामा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।