समानुपातिक मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अप्रत्याशित सफलता हात पारेको छ। १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले ५ लाख १२ हजार २१५ मत प्राप्त गरी सबैभन्दा अगाडि छ।
नेपाली कांग्रेसले १ लाख ७२ हजार १७५, नेकपा एमालेले १ लाख ३६ हजार १७६ मत प्राप्त गरेको छ। त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीको ६९ हजार ७८२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ३७ हजार २४१ र श्रम संस्कृति पार्टीको १८ हजार ४८७ मत छ।
राष्ट्रिय परिवर्तन पार्टीले १४ हजार १६६ मत ल्याएको छ। पूर्व मन्त्री कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले राष्ट्रिय परिवर्तन पार्टीको चुनाव चिह्न ‘बाँसुरी’मा भोट मागेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को ४ हजार ४२३, एकल चिह्न जाँतोको ३ हजार ५४२, जनता समाजवादी पार्टी नेपालको ३ हजार ३७२ र नेपाल मजदुर किसान पार्टीको ३ हजार २८२ मत छ।
समानुपातिक तर्फ कुनै पनि दलले देशभरिबाट सदर मतको ३ प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने नियम छ।
प्रत्यक्ष मतमा रास्वपा शनिबार राती १० बजेसम्म ७६ स्थानमा विजयी भइसकेको छ भने ४६ स्थानमा अग्रता कायम छ। कांग्रेसको ११ जित र ७ अग्रता, एमालेको ४ जित र ८ अग्रता, नेपाली कम्युनिष्ट पार्टीको ३ जित र ५ अग्रता छ।
राप्रपाले एक स्थानमा जितेको छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन म्याग्दीबाट निर्वाचित भएका छन्। श्रम संस्कृति पार्टीले ३ स्थानमा अग्रता लिएको छ।