प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंका सबै १० वटै निर्वाचन क्षेत्रमा अग्रता कायम गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ‘क्लिनस्विप’तर्फ अघि बढेको छ। हालसम्म ४ वटा क्षेत्रमा रास्वपा उम्मेदवार विजयी भइसकेका छन् भने बाँकी ६ वटामा पनि फराकिलो मतान्तरका साथ अग्रता कायम गरेका छन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले काठमाडौंका १० मध्ये ४ क्षेत्रमा जित हासिल गरेको थियो। त्यसबेला काठमाडौं–२ बाट सोविता गौतम, काठमाडौं–६ बाट शिशिर खनाल, काठमाडौं–७ बाट गणेश पराजुली र काठमाडौं–८ बाट विराजभक्त श्रेष्ठ विजयी भएका थिए भने अन्य पाँच क्षेत्रमा नेपाली कांग्रेस र एक क्षेत्रमा नेकपा एमाले विजयी भएका थिए।
यस पटक काठमाडौं–१ मा रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मतसहित विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रवल थापाले ६ हजार ३३९ मत प्राप्त गरेका छन्।
काठमाडौं–२ मा रास्वपाका सुनिल केसी १५ हजार ५३३ मतसहित अग्रस्थानमा छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका कविर शर्माले ४ हजार ७८२ मत प्राप्त गरेका छन्।
काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे १८ हजार ७५७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
काठमाडौं–४ मा रास्वपाका पुकार बमले २० हजार १७६ मतसहित ठूलो अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ६ हजार ५८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले ४ हजार ७२९ मत ल्याएका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारले सामाजिक सञ्जालमार्फत हार स्वीकार गरिसकेका छन्।
काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल २१ हजार ८९३ मतसहित अग्रता कायम गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रदीप पौडेलले ६ हजार ६७५ मत प्राप्त गरेका छन्।
काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल २७ हजार ७१९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कृष्ण सबुज बानियाले ६ हजार ६४७ मत प्राप्त गरेका छन्।
काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली २१ हजार ७६६ मतसहित जित नजिक पुगेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ हजार १२२ मत प्राप्त गरेका छन्।
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्।
काठमाडौं–९ मा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल २२ हजार ३७८ मतसहित अग्रता कायम गरेका छन्। दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ३ हजार ७१३ मत प्राप्त गरेकी छन्।
काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट ३० हजार १६६ मतसहित जित नजिक पुगेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले ७ हजार ४ मत प्राप्त गरेका छन्।
हालको मतपरिणाम अनुसार काठमाडौंमा रास्वपाले सबै क्षेत्रमा जित हात पार्ने सम्भावना बलियो देखिएको छ।