श्याम बञ्जरा (अध्यक्ष)
नेपाल पत्रकार महासंघ, मधेश प्रदेशभ्रष्टाचारमा नमुछिएका उम्मेदवार रोजौं
समाज, राष्ट्र, मतदाताले अपेक्षा गरेको विकास र परिवर्तनको अनुभूति गराउन र खबरदारी गर्न मतदाता सचेत हुनु पर्छ । निर्वाचनको बेलामा मतदाता सचेत नहुने हो भने उम्मेदवार र राजनीतिक दलहरूसँग अपेक्षा गरेको विकास र परिवर्तनको अपेक्षा राख्नुको कुनै नैतिक अर्थ रहँदैन । मतदानको समयमा अपेक्षा गर्ने, स्रोत र साधन दिएमात्र तिम्रो पक्षमा चुनाव प्रचारप्रसार अभियानमा हिँड्छु भन्ने किसिमको मानसिकता मतदातामा अन्त्य नभएसम्म सुशासन, भ्रष्टाचार अन्त्यका कुरा गर्न सकिँदैन । शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा र विकासको विभिन्न क्षेत्रमा प्राप्त भएर आउने बजेटको पारदर्शी ढंगबाट खर्च गर्न कठिन हुन्छ । अहिले राज्यले मतदान स्थलसम्म गएर मतदान गर्नको लागि वातावरण तयार गर्न प्रतिव्यक्ति झण्डै ६ हजार रुपैयाँ खर्च भइरहेको छ । निर्वाचनमा राज्यको ठूलो धनराशी खर्च भएरहेको छ । त्यसलाई सदुपयोग गर्नका निम्ति राम्रा, इमानदार, स्वच्छ छवि भएका, भ्रष्टाचारमा नमुछिएका, नैतिक र आचरण नबिग्रिएका उम्मेदवारहरूलाई मतदान गर्नुपर्छ ।
राजनीतिक दलका तर्फबाट उम्मेदवार बनाएका व्यक्तिहरूलाई मतदान गर्न सक्ने खालको सहज वातावरण निर्माण हुन सकेमात्र मतदाताले मतदान गरेर निर्वाचित भएर गएको प्रतिनिधिले गलत गर्दा खबदारी गर्न सक्छौं । मतदानपूर्व कुनै एउटा आमुख क्षेत्रमा, वडामा, टोलमा एक हजार जना मतदाता भए आमुख दलको व्यक्तिले जिम्मेवारी लिने र त्योबराबरको निश्चित रकम माग गर्न उम्मेदवार कहाँ जाने प्रवृत्ति विकास भएको छ । जबसम्म यस्ता प्रवृतिको अन्त्य हुँदैन, आम मतदाताहरूले राजनीतिक दलका नेताले गरेको बदमासीको प्रश्न उठाउने नैतिकता रहँदैन । नैतिकताको कसीमा रहन मतदाताले चुनावको समयमा, अन्य पर्वमा, सभासमारोहमा पनि निष्पक्ष ढंगले काम गर्नु पर्दछ । कुनै पनि प्रकारको अपेक्षा नगर्ने मानसिकताको विकास गर्नु पर्दछ । राज्यका संयन्त्र परिचालन हुनु पर्दछ । भड्किलो र खर्चिलो चुनावी गतिविधिलाई रोक्नका निम्ति दण्डित गर्न सक्ने खालको कानून निर्माण गरी कार्यान्वयनमा नल्याए मतदातालाई सचेत बनाउन सकिँदैन । सचेत मतदाताको अभावमा अनेकौं समस्या सृजना भएको छ । देश निर्माण र जनताको हितमा खाका लिएर मतदाताको बीचमा जाने उम्मेदवारलाई निर्वाचित गरेर पठाएमात्र सचेत मतदाताको परिचय दिन सकिन्छ ।
मन्दिरा राउत (मतदाता)
पानीटंकी–८, वीरगञ्जयोग्य उम्मेदवार छान्न सचेतना आवश्यक
देशलाई विकासतर्फ लैजानका लागि अहिले हुने निर्वाचनमा मतदाता सचेत हुन आवश्यक छ । सरकारी कार्यलयमा भएका बेथितिहरूलाई सुधार गर्न, देशमा सुशासन कायम गर्न, इमानदार, देशप्रति बफादार रही निष्ठापूर्वक राजनीति गर्ने योग्य उम्मेद्वारलाई छनौट गर्नुपर्ने भएकाले मतदाता सचेत हुन आवश्यक छ । मतदाता बिक्री हुर्दा नेतृत्व गर्न सक्ने सक्षम, शिक्षित, स्वच्छ छवि भएको व्यक्ति राष्ट्रले पाउन सक्दैन । नीति निर्माण तहमा गएर जनताका मुद्दाहरूलाई राख्न सक्ने प्रतिनिधि आवश्यक भएकाले हामी मतदाताहरू सचेत भएर मतदान गर्न आवश्यक छ ।
क्षमतावानलाई छान्न चनाखो हुनु पर्दछ
निर्वाचनको समयमा मतदाता सचेत हुन आवश्यक छ । मतदान गर्ने नागरिक सचेत भएनौं भने देशको विकराल स्थिति कसले सम्झिन्छ त ? देश धेरै विकट परिस्थितिबाट गुज्रिरहेको छ । जुन नेताले राजनीति बुझेको होओस्, राजनीतिमा परिपक्वता हासिल
राजेन्द्रप्रसाद सिंह (पूर्वशिक्षक)
वीरगञ्जगरेको होओस्, जसले देश र जनतालाई बुझेको होओस्, हिमाल, पहाड र तराई सबै जोडेर अगाडि बढ्ने स्थितिको सृजना गर्ने खालको व्यक्ति हुनु पर्छ । युवा रोजगार, व्यक्तिगत स्वतन्त्रता, न्यायलय स्वतन्त्रता र हरेक कुरामा विकृति आएको छ । ५ वर्षसम्मको स्थायी रुपमा शासन गरी देशलाई सम्पूर्ण विकृतिबाट निर्मूल पार्ने खालका उम्मेदवारहरूको छनौट गर्नु पर्छ । उम्मेदवारहरूको अध्ययन गरेर उसको सिद्धान्त के हो ? विचार के हो ? जनताको लागि के गर्न सक्छ ? कूटनीतिक प्रयासबाट नेपाललाई विदेशी शक्तिहरूको खेल मैदानबाट बचाउन सक्ने खालको हुनु पर्छ । यी सबै कुराहरू अध्ययन गरेर मतदाताहरू अगाडि बढ्नु पर्छ । रक्सी र मासुमा लाग्यौं भने भावी पिढीलाई कता धकेल्दै छौं भन्ने सोच्नु पर्छ । विदेशमा पसिना बगाएर युवाहरूको रेमिट्यान्सले देश चलाउने विधिको अन्त्य गर्न सक्ने हुनु पर्छ । स्वरोजगारमा जनतालाई जोड्ने खालको नेता हुनु पर्छ । सधै प्रविधिसँग जनता जुटेन भने हाम्रो विकास सम्भव छैन । देशले ऋणमाथि ऋण बोक्दै जाने र जनता लाभान्वित हुनुपर्ने ठाउँमा नेताहरू नै लाभान्वित भएका छन् । जतामुखी शासन हुनुपर्ने ठाउँमा नेतामुखी शासन भएको छ । नेता मोटाएका छन्, जनता दुब्लाएका छन् । अब पनि नागरिक सचेत भएनौं भने संकटको घडीमा अगाडि बढ्न गाह्रो हुन्छ । यसैले जसको राम्रो सिद्धान्त छ, राजनीति राम्रोसँग बुझेको राम्रो व्यक्ति, बच्चा, युवा सबैलाई मिलाएर अगाडि लान सक्ने खालको क्षमतावान उम्मेदवारलाई छानेर नेतृत्व तहमा पठाउन मतदाता सचेत हुन जरुरी छ ।
अन्जला श्रेष्ठ (मतदाता)
वीरगञ्जनयाँ पुस्तालाई प्राथमिकता दिनु पर्छ
अहिलेको निर्वाचनमा नयाँ पुस्तालाई प्राथमिकता दिनु पर्छ । भावी सन्ततिको लागि पनि परिवर्तन ल्याउनु पर्छ । पुराना राजनीतक दलले बेथिति, बिसंगति र भ्रष्टाचारमा डुबाएका छन् । देशलाई बेथिति, र भ्रष्टचार मुक्त बनाउन राजनीतिक परिवर्तन चाहेको हो । नयाँ पुस्ताहरूलाई राजनीतिमा प्रवेश गराउँदा काम गर्ने नयाँ शैली, आधुनिकीकरणसँग मिल्ने क्षमता, देशलाई नीति नियम ल्याउन सक्ने सोच भएका शिक्षित युवाहरूलाई ल्याउन राजनीतिक परिवर्तन गर्नै पर्छ । राजनीतिक परिवर्तनको लागि मतदाता सचेत हुनु पर्छ । कुनै लोभलालच, मोह, नातावाद, कृपावादमा नहेरी राजनीतिक रुपमा सक्षम, शिक्षित, काम गर्न सक्ने र आधुनिक सोचविचार भएको उम्मेदवारलाई छान्न मतदाता सचेत हुन आवश्यक छ ।