प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै गर्दा मधेशमा रास्वपाले ‘बालेन कार्ड’ प्रयोग गर्दै नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले युवामाझ लोकप्रिय छवि बोकेका बालेन्द्र शाहलाई सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेर मधेशमा पार्टीको उपस्थिति बलियो बनाउने प्रयास गरेको छ ।
घण्टी चुनाव चिह्नप्रति बढ्दो चासो देखिए पनि मधेशका जटिल मुद्दामा पार्टीको स्पष्ट धारणा नआउँदा विश्लेषकहरू सशंकित छन् । संघीयता, पहिचान, भाषा अधिकार र विकासको ठोस रोडम्यापबिनाको अभियान दीर्घकालीन रूपमा प्रभावकारी नहुन सक्ने टिप्पणी भइरहेको छ ।
निर्वाचन नजिकिँदै जाँदा मधेश प्रदेशको राजनीतिक मैदानमा रास्वपाले ‘बालेन कार्ड’ प्रयोग गरेको चर्चा तीव्र बनेको छ । युवामाझ रहेको आकर्षणलाई मधेशकेन्द्रित राजनीतिमा रूपान्तरण गर्ने रणनीतिका रूपमा यसलाई हेरिएको छ ।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनावी अभियानलाई तीव्र बनाएको छ । मधेशका कतिपय मतदाता यस्ता पनि भेटिएका छन्, जसलाई घण्टी चिह्न थाहा भए पनि उम्मेदवारको नाम भने प्रस्ट छैन । उम्मेदवारहरूले प्रचारका क्रममा ‘बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको जित आवश्यक’ रहेको सन्देश प्रवाह गरिरहेका छन् ।
परम्परागत रूपमा जातीय, क्षेत्रीय र पहिचानको राजनीतिले प्रभाव पारेको मधेशमा पछिल्लो समय बेरोजगारी, सेवा प्रवाहमा कमजोरी र भ्रष्टाचारप्रति असन्तुष्टि बढ्दै गएको छ । यही असन्तुष्टिलाई रास्वपाले अवसरका रूपमा प्रयोग गर्न खोजेको विश्लेषकहरूको बुझाइ छ ।
तर, मधेश राजनीतिका जानकार पत्रकार चन्द्रकिशोरका अनुसार मधेशको सामाजिक–राजनीतिक यथार्थ फरक छ । उनका अनुसार संघीयता, समावेशिता, भाषा, रोजगारी र विकासजस्ता मुद्दामा बालेनको स्पष्ट धारणा सार्वजनिक नभएसम्म यस्तो रणनीति सीमित प्रभावमै सीमित हुन सक्छ ।
राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा पनि बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारिनु ‘स्टन्ट’मात्र भएको दाबी गर्छन् । मधेशको पहिचान, अधिकार, संविधान संशोधन, सीमांकनलगायतका सवालमा रास्वपाको धारणा अस्पष्ट रहेको उनको भनाइ छ ।
रास्वपाका नेताहरू भने सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कृतिको माग मधेशमा पनि रहेको बताउँदै स्थानीय मुद्दामा केन्द्रित कार्यक्रम ल्याउने तयारी भइरहेको दाबी गर्छन् । प्रवक्ता मनीष झाले जनकपुरको सभामा बालेनले संघीयतालाई बलियो बनाउने सन्देश दिएको उल्लेख गरे ।
विश्लेषकहरूका अनुसार मधेशमा देखिएको ‘बालेन मोह’ पुराना दलप्रति बढ्दो असन्तुष्टिको परिणाम हो । रास्वपाले पुराना दलको असफलताबाट निराश मतदातालाई नयाँ विकल्प दिन खोजेको दाबी गरेको छ । मधेशमा ‘बालेन प्रभाव’ अस्थायी लहर हो कि स्थायी राजनीतिक आधार ? यसको परीक्षण आगामी निर्वाचनमै हुने देखिन्छ ।