अवतरणको क्षणमै आकासबाट खसेको विमान, धुवाँ र भग्नावशेषबीच भारतको महाराष्ट्र राजनीतिले आफ्नो एक प्रभावशाली अनुहार गुमाएको छ। बारामतीमा अवतरणको प्रयासका क्रममा चार्टर विमान दुर्घटनाग्रस्त हुँदा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको पुष्टि गरिएको छ।
बुधबार बिहान भएको उक्त दुर्घटनामा अजित पवारसहित विमानमा सवार सबै छ जनाको मृत्यु भएको उनका निकट सहयोगीले पुष्टि गरेका छन्। प्रारम्भिक विवरणअनुसार विमानमा अजित पवार, उनका सुरक्षाकर्मी, दुई पाइलट तथा अन्य यात्रु सवार थिए।
मृत्यु हुनेमा अजित पवारका सुरक्षाकर्मी विधित जाधव, पाइलट सुमित कपूर र सम्भावी पाठक तथा यात्रु पिंकी जाधव रहेको अधिकारीहरूले जनाएका छन्।
उडान विवरणअनुसार उक्त विमान बिहान ८:१० बजे मुम्बईबाट उडेको थियो र ८:५० बजे बारामतीमा अवतरण गर्ने तालिका थियो। तर अवतरणको प्रयासका क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको बारामती विमानस्थलका प्रबन्धक शिवाजी तावरेले जानकारी दिए। दुर्घटनाग्रस्त विमान Learjet 45 (VT-SSK) रहेको र निजी चार्टरमार्फत सञ्चालन गरिएको जनाइएको छ।
अजित पवार बारामतीमा जिल्ला परिषद् (जिल्ला परिषद) निर्वाचनलाई लक्षित गर्दै चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न जाँदै थिए। दुर्घटनापछि सबै यात्रुलाई स्थानीय अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको उनका सहयोगी किरण गुर्जरले बताएका छन्।
निजी सञ्चालकमार्फत सञ्चालन हुँदै आएको बारामती विमानस्थल हालै मात्र महाराष्ट्र एयरपोर्ट डेभलपमेन्ट कम्पनीलाई हस्तान्तरण गरिएको थियो। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको भारतीय अधिकारीहरूले जनाएका छन्।
यस विमान दुर्घटनाले महाराष्ट्रसहित सम्पूर्ण भारतीय राजनीतिक वृत्तमा शोक र स्तब्धता फैलिएको छ।