राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले संघीयताको वास्तविक कार्यान्वयनका लागि प्रदेश संरचनालाई शक्तिशाली बनाउनुपर्नेमा जोड दिएका छन्। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको विशेष चुनावी सभालाई सम्बोधन गर्दै शाहले केन्द्रमा थुप्रिएको अधिकारलाई प्रदेशसम्म पुर्याउनुपर्ने बताएका हुन्।
प्रदेश बलियो बनाउने बालेनको 'मोडल' संघीयताप्रति रास्वपाको धारणाबारे काठमाडौँमा उठ्ने गरेका प्रश्नहरूको जवाफ दिँदै शाहले भने, "प्रदेशलाई वास्तविक रूपमा बलियो बनाउनुपर्छ। वीरगन्जको प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्नका लागि काठमाडौँ धाउनुपर्ने वर्तमान बाध्यताको अन्त्य हुनुपर्छ। जबसम्म प्रदेशले आफ्ना कर्मचारी र स्रोतको व्यवस्थापन आफैँ गर्न सक्दैन, तबसम्म संघीयताको अर्थ रहँदैन।"
पशुपति र स्वयम्भू घुम्न मात्र काठमाडौँ शाहले प्रदेश संरचना बलियो भएमा अधिकारका लागि सिंहदरबार गुहार्नुपर्ने अवस्था नरहने दाबी गरे। "काठमाडौँ अधिकार माग्न जाने ठाउँ होइन, त्यो त पशुपतिनाथ र स्वयम्भूनाथ घुम्न जाने पर्यटकीय केन्द्र मात्र हुनुपर्छ," उनले भने, "सबै अधिकार र सेवा सुविधाहरू प्रदेश र स्थानीय तहमै उपलब्ध हुनुपर्छ।"
मधेस विकास र रास्वपाको एजेन्डा देश र विशेषगरी मधेसको आर्थिक एवं भौतिक विकासका लागि रास्वपाको विकल्प नरहेको जिकिर गर्दै शाहले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न अपिल गरे। उनले रास्वपाले केन्द्रमा अधिकार केन्द्रित गर्ने नभई प्रदेशलाई साधन-स्रोत सम्पन्न बनाउने नीति लिएको प्रष्ट पारे।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको संघारमा बालेन्द्र शाहको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा संघीयताप्रतिको रास्वपाको बदलिँदो र स्पष्ट दृष्टिकोणका रूपमा हेरिएको छ।