बंगलादेश सरकारले आफ्नो देशमा सन् २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रत्यक्ष प्रसारणमा रोक लगाएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतियोगिताबाट हटाएपछि बंगलादेशले कडा प्रतिक्रिया जनाउँदै यस्तो निर्णय गरेको हो।
बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले विज्ञप्ति जारी गर्दै मुस्ताफिजुरलाई कुन आधारमा प्रतियोगिताबाट हटाइयो भन्ने विषयमा स्पष्ट कारण नदिइएको भन्दै यसले बंगलादेशी जनताको भावनामा चोट पुगेको उल्लेख गरेको छ। मन्त्रालयका अनुसार यो निर्णय ‘जनहित’ लाई ध्यानमा राखेर गरिएको हो।
मन्त्रालयका सहायक सचिव फिरोज खानले हस्ताक्षर गरेको निर्णयसँगै बंगलादेशमा पहिलोपटक कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रसारणमा प्रतिबन्ध लगाइएको छ। सन् २००८ मा आइपिएल सुरु भएयता बंगलादेशका टेलिभिजन तथा अनलाइन प्लेटफर्महरूले यसको नियमित प्रसारण गर्दै आएका थिए।
डिसेम्बरमा सम्पन्न आइपिएल अक्सनमा मुस्ताफिजुरलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले किनेको थियो। तर शनिबार बिसिसिआईको निर्देशनपछि केकेआरले उनलाई टोलीबाट हटाएको हो। बिसिसिआईका सचिव देवजित सैकीयाले पछिल्ला केही घटनाक्रमलाई कारण बताए पनि विस्तृत विवरण सार्वजनिक गरेका छैनन्।
पछिल्ला दिनहरूमा भारतका केही धार्मिक तथा राजनीतिक नेताहरूले केकेआर र त्यसका मालिक शाहरुख खानको आलोचना गर्दै आएका थिए। बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूमाथि आक्रमण भइरहेको रिपोर्टबीच बंगलादेशी खेलाडीलाई टोलीमा राखिएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए। यस घटनाक्रमले दुई देशबीचको सम्बन्धमा थप चिसोपन ल्याएको विश्लेषण गरिएको छ।
यसैबीच, बंगलादेशले भारतमा आयोजना हुने टी–२० विश्वकपका आफ्ना खेलहरू अन्य देशमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) समक्ष माग गरेको छ। साविक तालिकाअनुसार फेब्रुअरी ७ मा कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिजविरुद्ध खेल हुने भए पनि बंगलादेशले ती खेलहरू श्रीलंकामा सार्न पत्राचार गरेको जनाएको छ।
आइपिएलमा पाकिस्तानी खेलाडीहरूलाई पहिलेदेखि नै अघोषित प्रतिबन्ध रहे पनि बंगलादेशी खेलाडीहरू भने सहभागी हुँदै आएका थिए। मुस्ताफिजुर रहमान सन् २०१६ देखि आइपिएलमा नियमित खेल्दै आएका छन्। उनीसँगै शकिब अल हसन पनि आइपिएलका चर्चित बंगलादेशी खेलाडी हुन्।
यसअघि अब्दुर रज्जाक, मोहम्मद आश्रफुल, मशरफे मोर्तजा, तमिम इकबाल र लिटन दासले पनि विभिन्न समयमा आइपिएल खेलेका छन्। हाल मुस्ताफिजुर बंगलादेशमै जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा रंगपुर राइडर्सबाट खेलिरहेका छन्।