अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने निर्णय भएपछि राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिएका छन्।
नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालय बाहिर खेलाडीहरूले धर्ना दिएका छन्। उनीहरूले नियमित लिग नहुँदा खेलाडीमा परेको मार र नेपाली फुटबल ओरालो लागेको भन्दै विरोध जनाएका छन्।
खेलाडी संघका अनुसार, “हामी पछिल्लो दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग आयोजनाका लागि एन्फासँग प्रयास गर्दै आएका थियौं। तर हाम्रो शालीनतालाई बेवास्ता गर्दै एन्फाले पुनः लिग स्थगन गरेपछि हामीले सडकमा आउनुपरेको छ। खेलाडी भएकाले मैदानमै व्यस्त रहनुपर्छ भन्ने हाम्रो मान्यता हो, तर पटक–पटक प्रयास बेवास्ता भएपछि विकल्प रहेन।”
सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधिहरूको बैठकले अर्को वर्षदेखि मात्र होम–एन्ड–अवे प्रणालीमा ए डिभिजन गर्ने सहमति गरेका थिए। तर यस वर्ष भने तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र हालको एन्फा प्रेसिटेन्ड लिग हेटौंडा सेमिफाइनलका चार टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गर्ने निर्णय भएको थियो।
राष्ट्रिय लिगमा गत संस्करणको च्याम्पियन चर्च ब्वाइज, मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन्। बाँकी आठ ए डिभिजन क्लबको प्रतिनिधित्व हुनेछैन।
खेलाडीहरूले रेलिगेसन व्यवस्था नभएको र रौनक कम हुने भन्दै यस लिगको निर्णयविरुद्ध विरोध जनाएका छन्।