अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यस वर्ष ए डिभिजन लिग नगरी केवल राष्ट्रिय लिग गर्ने सहमति भएपछि राष्ट्रिय फुटबल खेलाडीहरू विरोधमा उत्रिएका छन् ।
नेपाल फुटबल खेलाडी संघले जारी गरेको विज्ञप्ति सेयर गर्दै राष्ट्रिय खेलाडीहरूले सामाजिक सञ्जालमार्फत् असन्तुष्टि जनाएका हुन् । विरोध जनाउने खेलाडीहरूमा रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्टलगायत अधिकांश राष्ट्रिय खेलाडीहरू छन् ।
तीन वर्षअघि भएको ए डिभिजन लिगका विजेता क्लब चर्च ब्वाइजका कप्तान तथा सो सिजनका उत्कृष्ट खेलाडी अनन्त तामाङले एन्फाको निर्णयलाई ‘खेलाडीलाई जिउँदै मारेको’ भन्दै तीव्र प्रतिक्रिया दिएका छन् ।
उनले लेखेका छन्, “हामी खेलाडीको अभिभावक संस्था एन्फाले क्लबसँग मिलेर अझै १३ महिना लिग नहुने घोषणा गरेको छ । म चर्च ब्वाइज युनाइटेडको कप्तान र उक्त लिगको सर्वोत्कृष्ट खेलाडी पनि हुँ । सामान्य अवस्था भएको भए म त्यसपछि अझै दुई संस्करणमा खेलिरहेको हुन्थें, तर त्यो अवसर पाइनँ।”
अनन्तले थप लेखेका छन्, “हाल म बंगलादेशको क्लबसँग आबद्ध छु, तर सम्झौतामा नेपालको लिग भए फर्कने प्रावधान छ । आज मलाई साविक विजेताको ट्याग भारी भएको छ — म हरेक वर्ष लिग खेलेर उपाधि जित्न चाहन्छु, एकपटक खेलेर सधैंभर होइन। लिग मेरो मात्र होइन, मजस्ता हजारौं खेलाडीहरूको भविष्यसँग जोडिएको छ। सबै ए, बी र सी डिभिजन क्लबका प्रतिनिधिलाई विनम्र अनुरोध छ — हामी खेलाडीलाई जिउँदै नमार्नुहोस्।”
यसअघि सोमबार एन्फा सचिवालय र १४ क्लबका प्रतिनिधिहरूबीचको बैठकले अर्को वर्षदेखि मात्र ‘होम एन्ड अवे’ प्रणालीमा ए डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो ।
तर, यो वर्ष तीन वर्षअघि भएको ए डिभिजन लिगका शीर्ष ६ टोली र भोलिदेखि हेटौँडामा सुरु हुने एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल पुग्ने ४ टोली गरी १० टोलीबीच राष्ट्रिय लिग गराउने सहमति भएको हो ।
राष्ट्रिय लिगमा गत संस्करणका च्याम्पियन चर्च ब्वाइजसँगै मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, सातदोबाटो युथ क्लब, जावलाखेल युथ क्लब र न्युरोड टिमले प्रतिस्पर्धा गर्नेछन् । बाँकी आठ ए डिभिजन क्लबले भने यसपटक सहभागिता पाउने छैनन् ।
राष्ट्रिय लिगमा रेलिगेसन प्रणाली नहुने भएकाले लिगको प्रतिस्पर्धात्मकता र रौनकमा कमी आउने भन्दै खेलाडीहरू र फुटबलप्रेमीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।