देशकै मुख्य व्यापारिक प्रवेशद्वार वीरगञ्ज भन्सारमा शनिबारदेखि अनलाइन मूल्यांकन प्रणाली लागू गरिएको छ। यससँगै लामो समयदेखि प्रयोगमा रहेको भन्सार सन्दर्भ मूल्यसूची पूर्ण रूपमा हटाइएको छ।
अर्थमन्त्री रामेश्वर खनालले भर्चुअल कार्यक्रममार्फत उक्त प्रणालीको उद्घाटन गरे। खराब मौसमका कारण वीरगञ्ज पुग्न नसकेका अर्थमन्त्री खनालले काठमाडौंबाटै कार्यक्रमलाई सम्बोधन गर्दै भने, व्यापार सहजीकरण र लगानीको वातावरण बनाउन भन्सार प्रणालीमा सुधारका काम भइरहेको छ। अनलाइन मूल्यांकन प्रणाली त्यसैको पछिल्लो कडी हो।
उनका अनुसार अब व्यवसायीले प्रस्तुत गरेका आधिकारिक बील–बिजकका आधारमा नै प्रणालीले वस्तुको मूल्यांकन गर्नेछ। यससँगै अब सन्दर्भ मूल्य प्रणाली अन्त्य भई आयातकर्ताको विवरणमा आधारित अनलाइन मूल्यांकन लागू भएको हो।
भन्सार प्रणाली सुधार अभियानअन्तर्गत विराटनगर भन्सारमा गत असोज ८ गते परीक्षणका रूपमा शुरु गरिएको यो प्रणाली अहिले वीरगञ्जमा विस्तार गरिएको हो । अर्थ मन्त्रालयले क्रमशः सबै भन्सार कार्यालयमा यो प्रणाली लागू गर्ने तयारी गरेको छ।
वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार आयातकर्ताले पेश गरेको विवरणको मूल्यांकन प्रणालीले स्वचालित रूपमा ९० दिनको डाटाबेसको आधारमा विश्लेषण गर्छ। घोषित मूल्य, भाडा, इन्सुरेन्स लगायतका खर्च समावेश छ कि छैन भन्ने विवरण प्रणालीले परीक्षण गर्छ। जोखिम विश्लेषणपछि उच्च, मध्यम र न्यून जोखिम समूहमा वर्गीकृत गरिन्छ,ु उनले बताए।
उच्च वा मध्यम जोखिममा परेका वस्तुमा मूल्य थपिने र कम मूल्य घोषणा भएमा ५० प्रतिशतसम्म जरिवाना लाग्ने व्यवस्था छ। निजी क्षेत्रले पनि अनलाइन प्रणालीलाई स्वागत गरेको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले सन्दर्भ मूल्य हटाइनु व्यवसायीका लागि राहतको विषय भएको बताए।